हिकमत प्रोतेल/रुकुम(पूर्व)

रुकुम(पूर्व) को पुथा उत्तरगंगा गाउँपालिकामा मिक नेपाल र गाउँपालिकाको फोहोर व्यवस्थापन तथा वातावरण संरक्षण सम्बन्धि समन्वयात्मक वैठक सम्पन्न भएको छ । युनाइटेड मिसन टु नेपाल रुकुम(पूर्व) कलष्टर र मगर समाज सेवा तथा सुचना केन्द्रको साझेदारीमा सञ्चालित दिगो वातावरण तथा आर्थिक विकास सिड परियोजना अन्र्तगतको फोहोर व्यवस्थापन तथा वातावरण संरक्षण सम्बन्धी बैठक बसेको हो ।

बैठकमा गाउँपालिका अध्यक्ष पुनिराज घर्ती, उपाध्यक्ष भुपेन्द्रा बुढा लगायत वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो । मिक नेपालबाट कार्यक्रम संयोजक उत्तम बिक र सामाजिक परिचालक कल्पना बुढा सँगै चेबाङ कृषक समुहबाट पनि सहभागीता रहेको थियो ।

आज बसेको बैठकले पुथा उत्तरगंगा गाउँपालिकाको फोहोर व्यवस्थापन कार्यविधि गाउँपालिकाको विधेयक समितिसँग समन्वयमा निर्माण गर्ने, पुथा उत्तरगंगा १० मा फोहोर विसर्जन केन्द्र स्थापना गर्ने, जसको लागि आवश्यक सार्वजनिक जग्गा १० नम्बर अध्यक्ष भरत बुढाको संयोजत्कमा जग्गाको पहिचान गर्ने, गाउँपालिका केन्द्र भित्र रहेका होटेल पसल लगायतका व्यवसायीलाई बजार व्यवस्थापन समिति बनाई आफ्नो फोहोर आफैलाई व्यवस्थापन गर्न लगाउने निर्णय गरिएको छ ।

यसैगरी पुथा उत्तरगंगा गाउँपालिकाको केन्द्र रहेको तकसेरा गाउँमा मिक नेपाल र गाउँपालिकाको समन्वयमा चोक चोकमा फोहोर संकलन भाडो राख्ने र पुथा उत्तरगंगा गाउँपालिकामा रहेको सार्वजनिक शौचालय जिर्ण अवस्थामा रहेकोले तत्कालै मर्मत गर्ने, जसको आर्थिक सहयोग पुथा उत्तरगंगा गाउँपालिकाले गर्ने र मर्मत तथा व्यवस्थापन चेबाङ कृषक समुहले गर्ने गरि महत्त्वपूर्ण निर्णयहरु गरिएको छ ।