रुकुम(पूर्व) मा गाइ काटेको अभियोगमा ३ जना पक्राउ परेका छन् । राष्ट्रिय जनावर गाइ काटेको अभियोगमा भूमे गाउँपालिका २ का ४४ वर्षका रानविर कामी, भूमे गाउँपालिका ३ का दम्पती ५९ वर्षका सम्पती रोका र ५७ वर्षकी विनसरी रोकालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) का प्रहरी निरीक्षक गनेश पाण्डेले जानकारी दिनुभयो ।

उहाँकाअनुसार उनिहरुलाई गएराती पक्राउ गरिएको हो । भूमे गाउँपालिका ६ स्थित खाराबाङ(लुकुम खोला पारिपट्टी) गोठको छेउमा गाइ मारेर मासु काट्दै गर्दा पक्राउ गरिएको हो । गाइ काट्दै गरेको भन्ने गोप्य सुचनाको अधारमा गएर उनिहरुलाई पक्राउ गरेर ल्याएको प्रहरी निरीक्षक पाण्डेले बताउनुभयो ।

उहाँकाअनुसार सोधपुछको क्रममा उनिहरुले लडेर मरेको गाइलाई काटेको बताउदै आएका छन् । पक्राउ परेका तीनै जनालाई आज सोमबार अदालतमा पेश गरेको र तीनै जनालाई पाँचपाँच दिनको म्याद थप गरि अनुसन्धानको कार्यलाई जारी राखिएको छ । काटेको गाइलाई भने सम्बन्धित निकायको रोहबरमा गाडिएको छ ।

राष्ट्रिय जनावर गाइ मार्नेलाई कानुनमा तीन वर्षको कैद सजायको व्यवस्था रहेको छ ।