जलस्रोत तथा सिंचाई विकास सव डिभिजन कार्यालय रुकुम(पूर्व) बाट संचालित विभिन्न योजनाहरुको अनुगमन गरिएको छ । वर्षातको समयमा खोला, खोल्सिहरुमा आएको बाढी भेलले घर, बस्ति, जग्गा कटान, भवन आदी पहिरोको चपेटामा परेको कारण बाढी तथा पहिरो नियन्त्रणको लागि जलस्रोत तथा सिंचाई विकास सव डिभिजन कार्यालयले गरेका कार्यहरुको अनुगमन गरिएको हो ।

सिस्ने गाउँपालिकाको ५, ६, ७ र भूमे गाउँपालिकाको ५ नम्बर वडामा संचालित योजनाहरुको जिल्लास्थित सरोकारवालाहरुको उपस्थितीमा अनुगमन गरिएको हो । सिस्ने गाउँपालिका ७ नम्बर वडास्थित सिस्नेरी पहिरो तथा नदि नियन्त्रण योजना, ठुला खेत तथा नदि नियन्त्रण योजना, कुरीताल बाघेतारा फाट संरक्षण तथा नदि नियन्त्रण योजनाको अनुगमन गरिएको हो । यस्तै सिस्ने ५ र ६ स्थित धाउने बगर पहिरो तथा नदि नियन्त्रण योजना, सिस्ने ५ स्थित रुकुमगाड धौलापहिरा खोला नियन्त्रण पक्कि पुल सुरक्षा योजनामा गरिएको कामको अनुगमन गरिएको छ ।

यी योजनाहरु क्रमागत रुपमा संचालित रहेको चालु आर्थिक वर्षमा बिनियोजित बजेटको काम भइसकेको कार्यालयका प्रमुख योगेन्द्र महत्तोले जानकारी दिनुभएको छ ।

अनुगमनमा जिल्ला समन्वय समिति प्रमुख मेघबहादुर श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी माधव प्रसाद घिमिरे, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानका प्रमुख, जिल्लास्थित अन्य सरोकारवाला निकायका प्रमुख एवम् प्रतिनिधि र पत्रकारको उपस्थिती रहेको थियो ।