रुकुम पश्चिमको मुसीकोटबाट संचालित रेडियो सानोभेरी एफ.एम. १५ औं वर्षमा प्रवेश गरेको छ । सिस्ने बहुउद्देश्यीय जनसेवा केन्द्र रुकुमद्धारा सञ्चालित रेडियो सानोभेरी १४ वर्ष पूरा गरी आजदेखि १५ औं वर्षमा प्रवेश गरेको हो । वार्षिकोत्सवको अवसरमा रेडियोले आम श्रोता, विज्ञापनदाता, संचालक समितिका पदाधिकारी, सदस्य, रेडियोमा कार्यरत पत्रकार तथा कर्मचारी, पुर्व कर्मचारी एवं पत्रकारहरुका साथै समस्त शुभेच्छुक तथा शुभचिन्तकहरुमा शुभकामना व्यक्त गरेको छ ।
एक प्रेस विज्ञप्ती जारी गर्दै पहिलो संविधानसभा चुनावको मुखैमा अर्थात २०६४ साल चैत्र २५ गते प्रसारण सुरु गरेको रेडियो सानोभेरीले सूचना, सन्देश र विचार प्रवाहको माध्यमबाट संविधान निर्माणसँगै त्यसको कार्यन्वयन र संघीयता संस्थागत गर्ने कार्यमा महत्वपूर्ण योगदान गरेको रेडियोले जनाएको छ ।
संविधानले निर्दिष्ट गरे अनुसार समाजवाद उन्मुख समृद्धिको राष्ट्रिय उद्देश्य परिपूर्तिको लागि आम संचारको माध्यमबाट भुमिका खेलेको विज्ञप्तीमा उल्लेख छ । साथै कर्णाली प्रदेशमा समाजवादको आधार तयार गर्ने अभियानमा रेडियोको तर्फबाट गर्ने योगदानमा कुनै कमी हुन नदिने र जिल्ला समन्वय समिति रुकुम पश्चिमद्धारा जिल्लाव्यापी रुपमा सञ्चालित ‘आर्थिक समृद्धि तथा सामाजिक रुपान्तरण अभियान’ को कार्यक्रम कार्यान्वयनको सिलसिलामा समेत रेडियो सानीभेरीले सक्रिय भूमिका निर्वाह गरिरहेको छ, विज्ञप्तीमा भनिएको छ ।
स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले अघि सारेका जनपक्षीय कार्यक्रमहरुको तथ्य संगत प्रचार प्रसार गर्ने साथै राज्यका विभिन्न निकायहरुमा अनियमितता देखिएमा त्यसको सशक्त भण्डाफोर गरी सुशासन कायम गर्ने कार्यलाई हामी निरन्तरता दिने समेत रेडियोका प्रवन्ध निर्देशक धु्रवविक्रम बुढाथोकीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।