रुकुम(पूर्व) को पुथाउत्तरगंगा गाउँपालिकाले सञ्चालन गरेको पालिकास्तरीय तेस्रो राष्ट्रपती रनिङ शिल्ड कपको उपाधी पुथा हिमालय मावि मैकोटले हात पारेको छ । वडा नम्बर १ स्थित पुथा हिमालय माविमा सञ्चालन गरिएको शिल्डको उपाधी सोहि विद्यालयले जितेको हो ।

उसले २२ वटा इभेन्टमध्येमा १२ इभेन्टमा स्वर्ण पदक जित्दै शिल्ड हात पारेको गाउँपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख नवराज खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नम्बर ५ मा रहेको देउराली मावि हुकामले चार स्वर्ण जित्दै द्धितीय स्थान हासिल गरेको छ भने वडा नम्बर १० मा रहेको महेन्द्र मावि तकसेराले ३ स्वर्ण जित्दै तृतीय स्थान हासिल गर्न सफल भएको छ ।

प्रतियोगीतामा गाउँपालिका भित्रका ५ वटा माध्यामिक विद्यालयले सहभागिता जनाएका थिए । गाउँपालिकामा माध्यामिक विद्यालय ८ वटा छन् । तर यतिबेला अधिकांस विद्यालयका शिक्षकहरु शिक्षक सेवा आयोगको परिक्षा दिन गएकाले पनि शिल्डमा सबै विद्यालयहरु सहभागि हुन नसकेको गाउँपालिकाले जनाएको छ ।

यहि चैत्रको १७ गतेबाट सुरु भइ २० गतेसम्म चलेको शिल्डमा छात्र छात्रा भलिबल, कबड्डी, एथ्लेटिक्सतर्फ दुई सय, चार सय, आठ सय, पन्ध्र सय र तीन हजार मिटरको दौड तथा हाइजम्प, लङ्ग जम्प, सटपुट र ज्याब्लिङ थ्रो लगाएतका खेलहरु सञ्चालन गरिएको आर्थिक तथा प्रशासन शाखा प्रमुख खड्काले बताउनुभएको छ ।

पुथा उत्तरगंगा गाउँपालिकाका सामाजिक विकास शाखाका प्रमुख एवम् ८ नम्बर वडाध्यक्ष भिमबहादुर मल्लको अध्यक्षतामा भएको समापन कार्यक्रमको सञ्चालन खड्काले गर्नुभएको थियो ।