रुकुमकोट: कृषि उपज तथा अन्य सामग्री ओसारपसारका लागि रूकुम पूर्वको भूमे गाउँपालिका ८ कुचिबाङमा ग्राभिटी गुड्स रोपवे सञ्चालनमा ल्याइएको छ । यूकेएडको आर्थिक सहयोग र प्राक्टिकल एक्सन तथा विकास सरोकार समाज (डी-कोष) को प्रविधिक सहयोगमा रोपवे निर्माण गरिएको हो ।

स्थानीय माग र आवश्यकतालाई मध्यनजर गर्दै गाउँपालिकासँगको समन्वयमा रोपवे निर्माण गरिएको प्राक्टिकल एक्सनका प्रबन्धक देवदत्त भट्टले जानकारी दिनुभयो। भट्टले यो शून्य ईनर्जी प्रविधि भएको र तारको माध्यमबाट सञ्चालन हुने बताउनुभयो ।

उहाँका अनुसार भूमे-४ काडाबगरबाट भूमे-८ कुचिबाङसम्म कूल १ हजार १ सय ४४ मिटर रोपवेको लम्बाइ र ४ सय ८४ मिटर उचाई रहेको छ । कूल ४८ लाख ६८ हजार ६ सय ४७ रूपैयाँ लागतमा रोपवेको निर्माण सम्पन्न गरिएको हो । ‘यसबाट भुमे-८ का कुल २ सय ४२ घरधुरी लाभान्वित हुनेछन् ।

कुचिबाङबाट कराल बगर ९० किलो र करालबगरबाट कुचिबाङ ३० किलो सामान ओसारपसार गराउन सकिने
रोपवे व्यवस्थापन समितिका अध्यक्ष झलक रोकाले जानकारी दिनुभयो । रोकाका अनुसार केही मिनेट भित्रमा यसबाट सामान ओसारपसार गराउन सकिनेछ ।

रोपवे संचालनको लागि दुई जना अपरेटर राखिनेछ । अपरेटरले सामान ओसारपसारबापत प्रतिकिलो २ रूपैयाँ रकम लिनेछन् । जम्मा भएको रकममध्ये ७५ प्रतिशत अपरेटर स्वयंले र बाँकी रोपवे सञ्चालन तथा व्यवस्थापनमा खर्च गरिनेछ । बुधबार रोपवेको उदघाटन गरिएको छ ।