“यात्रा एक चर्चा अनेक”
गत हप्ता रुकुम पूर्व प्रचण्डमय बन्यो । माघ २९ गते जिल्लाको सिमाना पातिहाल्नामा हिउँसँग रमाउदैं जिल्ला प्रवेश गर्नुभएका प्रचण्ड फागुन ६ गते जिल्लाको पश्चिम सिमाना धपेको सानो बजारमा सघन जनप्रदर्शन तथा छोटो र प्रभावकारी चुनावी सभा सम्पन्न गर्दै पश्चिम रुकुमको लागि प्रस्थान गर्नुभयो । यस अघि माघको ५ , ६ र ७ मा मनोनयन दर्ताको क्रममा पहिलो इनिङमा रुकुम पूर्वमा आइपुग्नुभएका प्रचण्ड छोटो समयमा नै छिप्रिदह बजारमा भव्य स्वागत ग्रहण गर्दै उल्लेखनिय जनसहभागिता सहित आफ्नो उम्मेदवारी दर्ता पश्चात जिल्लाभरीका अगुवा कार्यकर्तालाई सारगर्भिक, समसामयिक राजनैतिक प्रशिक्षण दिनुका साथै पार्टीको पक्षमा परिणाम हासिल गर्न युद्धस्तरमा खट्न कार्यकर्तालाई निर्देशन दिनुभयो । ७ गते सहिद परिवारसँग भेटघाट गर्दै फर्किनुभएका प्रचण्ड पुन: फागुनको २९ गते लुगुममा कार्यकर्ताको उत्साहजनक उपस्थितीमा स्वागत ग्रहण गर्दै दोस्रो इनिङमा प्रवेश गर्नुभएको थियो ।

फागुन १ गते जिल्ला भित्रका सम्पूर्ण सहिद परिवार, घाइते, अपाङ्ग तथा बेपत्ता परिवारलाई सम्मान गर्दै जनयुद्ध दिवसको अवसरमा खाबाङमा आयोजित कार्यक्रमलाई सम्बोधन गरी ऐतिहासिक स्थल चुनवाङ पुग्नुभयो । त्यस दिन बिहान ऐतिहासिक ठाउँहरु लावाङ, धर्मशाला र महतमा घरदैलोमा रमाउनुका साथै महत युद्ध स्मारिकाको अवलोकन र ऐतिहासिक लावाङ बैठक चल्दा आफु बसेको घरको अवलोकन गर्न भ्याउनुभयो । २ गते चुनवाङमा बिहान चर्चित चुनवाङ बैठक स्थल भेरीडाँडा अवलोकन र जनभेटघाट गर्दै दिउसो गैरीगाउँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो । त्यस दिन चुनवाङबाट कोर्जा, काक्री हुदै चुनावी सभालाई सम्बोधन गर्न तकसेरामा पुग्नुभएको थियो । ३ गते बिहान तक गाउँमा जनभेटघाट गर्नुभएका उहाँ सोही अभियालाई जारी राख्दै विर्गुम, पिपलटुङ, पदमी, डिम्मुरगैरा, मयाङ, हुकाम हुदैं मैकोटमा पुग्नुभएको थियो । ४ गते फेरी मैकोटमा जनभेटघाट सकेर त्यहाँबाट तक फर्किएर तुपा, दमचन, माथिल्लो सेरा, तल्लो सेरा, फल्नइ, गर्खानी, कोल, गोलखाडा, राङ्सी, नाखा, जामा बगरमा आयोजित कार्यक्रमलाई सकाएर साझमा उत्तिकै जोस र उत्साहका साथ पैदल यात्रा गरेर सिस्ने १ र २ का स्थानीयको भव्य स्वागतका बिचमा नायगाडमा पुग्नुभयो । ५ गते नायगाडमा सिस्ने १ र २ सहित पुथा उत्तरगंगा गाउँपालिकाका ७ र ८ नम्बर वडाको संयुक्त चुनावी सभालाई सम्बोधन गर्नुभयो । ५ गते नै सिस्ने गाउँपालिका-६ छिप्रिदह पिपलबोटमा स्वागत ग्रहण गर्दै ठुलाखलाको जनभेटघाटमा सहभागी हुनुभयो । त्यसै दिन पत्रकार सम्मेलन, पार्टी प्रवेश कार्यक्रम र शिक्षक संगठनसँग छोटो भेटघाट भ्याउनुभएको थियो । ६ गतेका दिन खोपिचार, खाराचोक, ढकालबारामा जनभेटघाट तथा चुनावी सभालाई सम्बोधन गर्नुभयो । ढकालबारामा खाना खाइसकेपछि सिस्ने ४ को नमुना बस्ति भिङ, सिस्ने ३ को पोखरा, सिस्ने ७ को सिस्नेरी र सिस्ने ८ को धपेमा चुनावी सभालाई सम्बोधन गरेर रुकुम पश्चिम प्रस्थान गर्नुभयो ।
“भव्य स्वागत, अपार समर्थन, अटुट विश्वास”
माथी उल्लेखित सबै स्थानहरुमा क. प्रचण्डसहित जिल्लाका दुई समानुपातिक उम्मेदवार सुनिता विएम र उपेन्द्रलाल कामीको चुनावी अभियान टोलीलाई पञ्चे बजा र फूलमालाले भव्य स्वागत गर्दै जनसमुदायको उल्लेख्य उपस्थितीले मुख्यतय क. प्रचण्ड र पार्टीप्रति अगाध माया, विश्वास र ठुलो अपेक्षा रहेको कुरा व्यक्त भएको पाइएको छ । ग्रमिण वर्ग संघर्ष, शसस्त्र संघर्ष एवं जनयुद्धकाल भरी राज्य पक्षको चरण दमन, यातना सहेर सिंगो पार्टी पङ्तीलाई संरक्षण गर्दै आएका खारिएका पुराना पार्टीका कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको रुकुम पूर्वमा आफ्नो सुप्रिमोसँग शान्ती प्रकृयाको लामो समयसम्म पनि साक्षात्कार हुन नपाएको समयमा यो उपयुक्त अवसर हुनु स्वभाविक थियो । हिजो देखी जुन स्तरको आदर्श, निष्ठा, आस्था र आसा र भरोसा थियो, लामो समयसम्म पनि अविचलित रहदैं त्यस्तै स्प्रिटमा अहिले आफ्नो नेतृत्व समक्ष उहि भाव व्यक्त गर्न पाउदा कार्यकर्ता एवं जनताको गौरवको विषय रहेको आभाष मिल्थ्यो । जताको अपार स्नेहले क. प्रचण्डलाई धेरै नै उद्येलित बनाएको र बेला बेलामा उत्साहित हुदैं पुलकित बनाएको सहजै देख्न सकिन्थ्यो । शान्तीकालमा शहर बजारमा अलमलिएको नेतृत्वलाई -जनतासँग, जनतालाई- कार्यकर्तासँग र कार्यकर्तालाई पार्टीसँग एकाकार गर्ने पद्धती पुनर्जिवित भएको आभास मिलेको छ ।


“तिव्र पूर्वाधार विकास– शिघ्र समृद्धि, प्रति जनताको चाहना व्यक्त,”
कार्यकर्ता मात्र नभएर सचेत जनताको पक्षबाट समेत “हामीलाई चितवन भरतपुरको जस्तै विकास चाहियो” भन्ने अभिव्यक्तीले के संकेत गर्दछ भने हामीलाई पूर्वाधार विकास तिव्रतामा चाहिएको छ । जसरी भरतपुरमा विगत ८ वर्षमा संभव भएको छ, त्यसरी नै हाम्रोमा पनि आवश्यक छ । सबैजसो भेटघाट र कार्यकर्ताहरुले पेश गरेका माग पत्रले त्यसकै आवश्यकता बोध गर्दछ । जुन तिव्रता र शिघ्रतामा हिजो वर्ग संघर्ष, छापामार संघर्षमा राज्य व्यवस्था परिवर्तन गर्न यो समुदायले योगदान पुर्याएको छ । त्यही गतिमा विकास र समृद्धिले गति पकड्न नसक्दा बेलाबेलामा आक्रोश प्रकट हुने पनि गर्दछन् । यस तर्फ समयमा नै ध्यान जानुपर्दछ भन्ने कुराको बोध ज्ञापन पत्रका चाङले गर्दछन् । क.माओ ले “ताचाओ” र “ताचाइ” को मोडेल बनाए झै चितवन भरतपुर पुँजीवादी विकासको मोडेल आधारभूत रुपमा तयार भएको र अब रुकुम पूर्वलाई योजनाबद्ध, यथाशिघ्र र तिव्र समाजवादी विकासको मोडेलको रुपमा विकास गर्न ढिला गर्न हुदैंन । जुन कार्यक्रम केन्द्रिय कार्यभार या अभिभारा बन्न पर्दछ भन्ने कुरा जनताको लिखित मौखिक अभिमतले जाहेर गर्दछ ।

“सांस्कृतिक उत्सवमय चुनाव”
प्रत्येक गाउँमा रहेको बाजागाँजा सहित उपस्थित जनताको साथमा भएका गित, नृत्य, बाजा बजाउदैं नेतृत्वसँग रमाउदा देखिएको उमंग, उत्साह र एकताले सामाजिक तागत पैदा गरेको अनुभूत भएको छ । पश्चिमतिरको सिंगारु नाँच होस या मयूर नाँच, बिचको झ्याउरे नाँच होस या पैसेरु नाँच, पञ्चे बाजाको ताल होस या भूमे नाँच या जनकलाकारका जागरणमुखी गित डेगमा घन्किएका होउन । सबै कलाकार, जनता, कार्यकर्ता, नेता, सर्वोच्च नेता सबै एउटै मञ्चमा, एउटै ताल र लयमा नाचेर उन्नत सास्कृतिक एकता पैदा गर्दै थप संगठित शक्ती निर्माण गर्न आधार तयार भएको अनुभूत भएको छ । जनमनमा रहेका लय र ताल जनजिब्रोमा रहेको स्वर र शब्दहरुले उच्च स्तरको विचारद्वारा हासिल हुन नसकेको भावनात्मक एकता पैदा गरेको छ । जसले समाजवादी आधार तयार पार्न ठुलो तागत पैदा गर्ने गरी आधार तयार भएको अनूभूत गर्न सकिन्छ ।

“सामाजिक संजालको प्रभावको वेप्रवाह प्रतिक्रिया”
डिजिटल प्लेटफर्म एल्गोरिदमको एकोहोरो प्रचार सामाजिक संजालमा आउने नेतृत्व, पार्टी, नेता/कार्यकर्ता, निर्वाचित जनप्रतिनिधिहरु प्रति गरिने निकृष्ट गालीगलौज आक्रमक गोयबल्स शैलीको झुट र फरेवका पुलिन्दा वितरण, आधार र प्रमाण विहिन डिजिटल प्रसारलाई वेप्रवाह गर्दै संयोजक क. प्रचण्डको अभियान टोलीमा रहेका सदस्यहरुको तर्फबाट सबै कार्यक्रमहरुको लाईभ प्रसारण, संजालमा प्रकाशित गरेर सामाजिक संजालमय बनाउने प्रयत्न प्रशंसा गर्न योग्य रहेको छ ।

“मर्निङ वक मिनि लंग मार्च गतिशिल पार्टी”
बिहान ५ बजेपश्चात नित्य कर्म देखी सुरु भएको जीवनचर्यासँगै ७ बजे नियमित मर्निङ वक, जनभेटघाट, ऐतिहासिक, पुरातात्विक वस्तुहरुको अवलोकन, जनसभा, नृत्य, सभा सम्बोधन दिनमा ११/१२ वटासम्म विभिन्न कार्यक्रमको आयोजना सम्पन्न गर्दै हिड्नु कुनै चानचुने कार्यक्रम वा अभियान होइन् । यो रुकुम पूर्वमा चलेको “मिनि मार्च” को कार्यक्रमले जिल्ला भित्र पार्टी संगठनलाई चलायमान त गराएको थियो नै । सामाजिक संजालमा बिहानदेखी दिइने लाइभ प्रस्तुतीले समग्र देशभरीको पार्टी पङ्तीलाई पनि दिशानिर्देश र उत्प्रेरित गरिरहेकै थियो । यतीमात्र होइन, यो लोभ लाग्दो र आश्चर्यजनक परिचालनले विपक्षी अन्य दलहरुलाई पनि सिकाइरहेको हुनुपर्दछ । शान्तीकालपछि सुस्त बनेको संगठन परिचालनको कार्य, बिच बिचमा भएका चुनावहरुमा सक्रिय रहे पनि यस पटकको चुनावी अभियानमा युद्धस्तरको संगठन परिचालित हुदा पार्टी गतिशिल हुन पुग्नुले परिवर्तनको अर्को प्रवाहलाई निम्तो दिए झै लाग्दछ । यस माहोलबाट संगठन निर्माण गर्न आधार तयार भएको छ । ७२ वर्षिय सुप्रिमोको अविराम, अविचलित उर्जा सहितको भौतिक गतिशिलताले पक्कै पनि जनताको निष्ठा, आदर्श, विश्वाशलाई पार्टीको विचारद्धारा लैस गराउदै अहिलेको यस प्रयोगपछि अर्को नयाँ शस्लेषणका लागि प्ररणा बन्ने सम्भावना बढेर गएको छ ।

“अभूतपूर्व एकता: पूनर्मिलन र प्रवेश”
न्यूनतम वैचारिक सहमती र सांगठनिक एकताका आधारमा शुरु भएको २३/२४ घटकहरुको पूनर्गठन एवं पार्टी एकता पश्चात जिल्लामा पार्टी बाहिर रहनुभएका नेता कार्यकर्ता पुनर्मिलन हुने प्रकृया तिव्र हुँदै गएको देखिन्छ । अर्कोतिर पार्टीबाट बाहिरिने व्यक्ती नभएको कारण एकता मजबुत हुदैं गएको छ । पार्टीका संयोजक नै जिल्लाबाट प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवार भएर आएपछि अभूतपूर्व एकता पैदा भएको छ । विभिन्न पार्टीबाट नेता कार्यकर्ताको प्रवेश ह्वात्तै बढेको छ । जिल्ला भित्र पार्टीमा देखिदै आएका अन्तरविरोधहरु न्यूनिकरण हुँदै गएका छन् । अभियानको अन्तसम्म अर्थात फागुन २१ गतेपछि धेरै हदसम्म अन्तर विरोधहरु हल भएर जाने छन् र पार्टी मजवुद बन्दै जाने छ । एकता, सहकार्य, संघर्ष, रुपान्तरणसहित निकट समयपछि समाजवादको आधार तयार पार्न योग्य नैतिकवान, निष्ठावान, समर्पित, अनुशासित, मिलिट्यान्ट संगठन निर्माण गर्न जग तयार हुदैं गएको छ ।

“अपार सम्भावना र सन्निकट चुनौतीहरु”
भदौ २३ र २४ गतेपछि देशमा उत्पन्न असाधारण परिस्थितीबाट देशलाई पार लगाउन फागुन २१ गतेको निर्वाचनलाई हर हालतमा सम्पन्न गर्न प्रमुख कार्यभार रहेको छ । त्यो भन्दा बढी क. प्रचण्डको पक्षमा समग्र निर्वाचन प्रक्रियालाई आफ्नो पक्षमा पार्न प्रमुख कार्यभार रहेको छ । Gen-Z समुहले उठाएका प्रगतिशिल मुद्धाहरुको सम्बोधन गर्ने वातावरण निर्माण गर्नु, मडारिरहेको राष्ट्रियताको खतरालाई सुरक्षित अवतरण गर्न, गहिरिदो आर्थिक संकट समाधान गर्दै लैजानु, समग्र राष्ट्रिय राजनीतिलाई लयमा फर्काउनु प्रमुख दायित्व रहेको छ । यी तमाम कार्यभार पुरा गर्नको लागि आफुले मात्र एक थान सांसद जितेर पुग्दैन । राष्ट्रिय राजनीतिमा निर्णायक स्थान सहित चुनावी परिणाम आफ्नो पक्षमा हासिल गर्न क. प्रचण्डको दायित्व बनेको छ । क. प्रचण्डको उक्त केन्द्रिय दायित्व पुरा गर्न रुकुम पूर्वको पार्टी एवं जनताले उच्च स्तरको समझदारी देखाउनुपर्ने, खटनपटन गर्न पर्ने र योगदान दिनपर्ने देखिन्छ । जसको आधार र सम्भावना प्रचुर मात्रामा तयार भएको देखिन्छ । संयोजक क. प्रचण्डको यसै पटकको कुल ३१ वटा वडामा ३३ वटा साना ठुला कार्यक्रम गर्दै मिनी म्याराथुन- मार्च सम्पन्न भएको छ ।


प्रचण्डको कार्यक्रममा उहाँ मात्र नभएर सयौ नेता, कार्यकर्ता, हजारौ जनताको प्रत्यक्ष संलग्नता देखिएको छ । उहाँको पक्षमा माहोल निर्माण भइसकेको छ । प्राविधिक रुपमा २१ गतेलाई पर्खिरहेको आभाष हुन्छ । हामीसँग अझै एक हप्ताको समय छ । रुकुम पूर्वको लागि मात्रै नभएर राष्ट्रिय राजनैतिक संकट समाधानको लागि आफुलाई एक हिस्सेदार सम्झेर निर्धारित र परिभाषित भूमिकामा खट्नु अहिलेको प्रमुख कर्तव्य हो । पक्कै पनि जिल्लामा राजनैतिक, कानुनी, प्रशासनिक, आर्थिक तथा विकास र निर्माणका समस्याहरु चुनौतीको रुपमा प्रस्तुत भएका छन् । ती समस्या हाम्रा साझा समस्या हुन् । राजनैतिक समस्या हामी आपसी सहमतीबाट हल गर्न सक्षम छौ । कानुनी समस्या सम्बन्धित निकायबाट सम्बोधन हुने नै छ । ती सवालहरुमा पनि हामी सहयोगी बन्ने अवस्थाका लागि तयार नै छौ । यदी आवश्यकता बोध भएमा बाकी विषयहरु पनि उच्च राजनैतिक व्यवस्थापकिय कुराहरु हुन् । ती पनि सुझबुझका साथ हल हुदैं जाने छन् ।
अनी अर्को कुरा आम निर्वाचनमा चुनिने र चुन्ने लोकतान्त्रिक अवसर र विधि भएको हुँदा रुकुम पूर्वमा पनि यस अवसरको सदुपयोग गर्दै अन्य उम्मेदवार पनि प्रतिस्पर्धामा आउनुभएको छ । आफ्नो-आफ्नो पार्टी विचारको बलमा उहाँहरु चुनावी मैदानमा हुनुहुन्छ । एउटा कुरा के ठोकुवाका साथ भन्न सकिन्छ भने क. प्रचण्ड बाहेक जती उम्मेदवार उठ्नुभएको छ उहाँको राजनैतिक अधिकारको संरक्षणको लागि समेत क. प्रचण्डले जित्नु वान्छनिय छ । हेलिकप्टर चढेर सुरक्षित स्थानमा लाग्नु पूर्व पूर्वप्रधानमन्त्रीले “२ दिन अगाडी तोप खसेपनि यो सरकार ढल्दैन” भनेपनि पहिलो र दोस्रो दल मिलेर बनेको बलियो सरकार २३ र २४ को दुई दिने विद्रोहले ढल्न पुग्यो । त्यतिबेलाको रिक्त राजनीतिक भ्याकुममा क. प्रचण्डको सक्रिय उपस्थिती र सचेत पहलकदमीले व्यवस्थाको रक्षा र चुनावको घोषणा हुन पुगेको कुरा जगजाहेरै छ । जनताबाट गलत्याइएको शक्ती कुनै क्षमायाचना नगरेर कसरी सरकार संचालनको चाबी हात पार्ने दाउमा रहेको होला । तै पनि यस भन्दा अघिको भूमिकाको लागि धन्यवाद भनौ र विदाई गरौ । बाँकी नयाँ भनेर आउनुभएकाहरुको लागि उहाँहरुको एजेण्डा के नयाँ हो स्पष्ट छैन् । यस पटक माया गरेर बिदा गरौ । उहाँहरुले आफ्नो तप्काबाट प्राप्त मत संरक्षण गर्नुहुन्छ र आफ्नो ड्यूटी पुरा गर्न हुन्छ । यीनै चुनौती सामना गर्दै हाम्रो सामु देखा परेको अपार सम्भावनालाई भरपुर आफ्नै पक्षमा यथार्थमा परिणत गर्न थप मेहनत गरौ ।
अन्तमा जनताको अपार माया, निष्ठा, आदर्श र उत्साहलाई संगठित तागतमा बदल्न विचारको विकासलाई जोड दिऔं । तिव्र पूर्वाधार विकास र शिघ्र समृद्धिको आकाक्षालाई सम्बोधन गर्न समाजवादी विकासको मोडेल तयार पारी सरकार मार्फत कार्यान्वयन गर्न समाजवादी पक्षधर क्रान्तीका प्रमुख आर्केटेक्चर क. प्रचण्डलाई विजयी गराउन भरमग्दुर प्रयास गरौ ।

लेखक: आर.के. विवश

