रुकुम पूर्वका प्रतिनिधि सभा सदस्य उम्मेदवार एवं नेकपाका संयोजक पुष्प कमल दाहाल प्रचण्डले रुकुम पूर्वको विकास देखी लिएर अहिलेको परिस्थितीमा देशलाई निकास दिनेसम्मको संकल्प गर्नुभएको छ । देशलाई अप्ठ्यारो परिस्थितीमा पुर्याउने र देशलाई जलाउनेहरु चुनावी मैदानमा दौडिरहदा नेपाली कम्यूनिष्ट पार्टी देशलाई सहि दिशा दिने संकल्पका साथमा चुनावी मैदानमा रहेको बताउनुभएको छ ।
नेकपाका संयोजक प्रचण्डले रुकुम पूर्वबाट चुनाव लड्दै गर्दा विकासको हिसावले तुलनात्मक रुपमा पछि परेको यस जिल्लालाई अग्रणी बनाउनको लागि विशेष आर्थिक तथा पुर्वाधार प्याकेज लागु गर्ने संकल्प गर्नुभएको छ । जनयुद्धकालमा जसरी यस जिल्लाको चुनवाङ बैठकले देशलाई शान्तीको मार्ग देखाएको थियो, त्यसरी नै अब रुकुम पूर्वले देशलाई समृद्धिको मार्ग देखाउनुपर्ने भनाई उहाँको छ । त्यसै कारण देशलाई समृद्धिको मार्गमा अगाडि बढाउन मूख्य भूमिका खेल्ने यस जिल्लाको विकासको लागि प्याकेज बनाएर काम गर्ने कुरालाई संयोजक दाहालले चुनावी घोषणा पत्रमा उल्लेख गर्नुभएको छ ।
रुकुम पूर्वलाई सुगम बनाएको मध्यपहाडी लोकमार्गको पूर्णता तथा सहिदमार्ग (थवाङ, महत, काँक्री, तक, हुकाम, मैकोट, दुले हुँदै शहरतारा-डोल्पा) सडकलाई सम्पन्न गर्न पहल गर्ने, संघिय सरकार र प्रदेश सरकारबाट टेन्डर आह्वान भएका मोटरेबल पुल, झुलुङ्गे पुल लगाएतका पूर्वाधार योजनाहरु निर्धारित समयमै सम्पन्न गर्न पहल गर्ने कुरा घोषणा पत्रमा उल्लेख गरिएको छ । यस्तै सानीभेरी, उत्तरगंगा, ढोरपाटन करिडोर र दुईखोली (रोल्पा), चुनवाङ, रुकुमकोट, सिस्ने, डोल्पा जोड्ने सडकलाई पूर्णता दिने, जिल्लाको तिन वटै पालिका केन्द्रदेखी वडा र वडा देखी वडा जोड्ने पक्की सडकमार्फत यातायात क्रान्ती गर्ने बताइएको छ । योजना प्रोजेक्ट बैंकमा रहेका जिल्लाका योजनाहरुको प्राथमिकिकरण र कार्यान्वयमा जोड दिनुका साथै स्थानीय नदिनालाबाट लघु तथा मेघा जलविद्युत उत्पादन, प्रत्येक वडासम्म केन्द्रिय प्रशारण लाईन विस्तार, जिल्लामा ग्रिड स्थापना, सिँचाइ पूर्वाधारको विस्तार तथा आधुनिक र व्यावसायिक कृषि प्रणाली लागु गर्ने कुरा घोषणा पत्रमा उल्लेख गरिएको छ ।
यस्तै पुथा-सिस्ने हिमशृङ्खला, तालतलैया, ढोरपाटन शिकार आरक्ष, मगर सांस्कृतिक बस्ती र जनयुद्धका ऐतिहासिक स्मृतिसहितका सम्पदाहरुको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने, यार्सागुम्बा, पाँचऔंले लगाएत बहुमुल्य जडिबुटीको उत्पादन, संरक्षण, प्रशोधन केन्द्र स्थापना र बजार सुनिश्चित गर्ने बताइएको छ । जिल्ला अस्पतालमा २४ सै घण्टा विशेषज्ञ चिकित्सक, आवश्यक उपकरण र प्रभावकारी स्वास्थ्य सेवा सुनिश्चित गर्ने, सामुदायिक शिक्षाको गुणस्तर सुधार, थोरै विद्यार्थी धेरै विद्यालयको समस्यालाई समाधान गर्न विद्यालय केन्द्रिकरण, विषयगत शिक्षकको व्यवस्था, आवासीय सुविधा र गुणस्तर अभिवृद्धिको लागि आवश्यक नीति निर्माण तथा कार्यान्वयन गर्ने साथै संघ, प्रदेश र स्थानीय तहबाट सुरु भएका अधुरा र क्रमागत योजनाहरुलाई पूर्णता दिने कुरालाई संयोजक दाहालले आफ्नो चुनावी घोषणा पत्रमा उल्लेख गर्नुभएको छ ।
जनयुद्धको उद्गमथलो समेत रहेको रुकुम पूर्वका जनतासँग संयोजक दाहालले यो जिल्ला आफ्नो लागि केवल एउटा निर्वाच क्षेत्र मात्र नभएर राजनीतिक पुनर्जन्मको थलो र परिवर्तनको उद्गमस्थल रहेको बताउनुभएको छ । विस्तृत शान्ती सम्झौताको जीवीत हस्ताक्षरकर्ता हुनुको नाताले जनयुद्धका सहिद, बेपत्ता तथा घाइते योद्धाहरुको सम्मान, तिनका परिवारका लागी राहत र परिपुरणका कार्यलाई निष्कर्षमा पुर्याउनेसँगै द्धन्द्धकालिन मुद्धाहरुको रानीतिक तथा कानुनी निरुपण गरी शान्तीलाई दिगो बनाउन आफु प्रतिबद्ध रहेको कुरा संयोजक दाहालले बताउनुभएको छ । लुम्बिनी प्रदेशद्धारा घोषित अर्गानीक जिल्ला रुकुम पूर्वलाई चाहिने आवश्यक नीति र नियम निर्माण गर्दै प्रमाणीकरण तथा बजार सुनिश्चत गरी यहाँको उत्पादनलाई ‘प्रिमियम ब्राण्ड’ का रुपमा शहरका डिपार्टमेन्टल स्टोरसम्म पुर्याउने र देशकै गुणस्तरीय टिम्मुरलाई ब्राण्डिङ, स्याउ, सुन्तला, कागती लगाएतका फलफूलहरु, अर्गानिक तरकारी, अन्नबालीहरुलाई बजारीकरण गर्ने कुरालाई संयोजक दाहालले प्रतिबद्धता पत्रमा उल्लेख गर्नुभएको छ ।
मगर समुदायको बाहुल्यता रहेको यस जिल्लामा संविधानको मर्म अनुसार मगर क्लष्टरहरुलाई स्वायत्त क्षेत्र घोषणा गरी ‘खाम मगर’ सभ्याताको विश्वव्यापी ब्रान्डिङ गर्ने प्रयास गर्ने, यहाँको फलाम खानी उत्खनन तथा जडिबुटी प्रशोधन केन्द्र स्थापना गरी जिल्लालाई ‘नमुना औद्योगिक जिल्ला’ बनाउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ । यसबाट प्राप्त रोयल्टीले रुकुम पूर्वलाई नेपालकै धनी जिल्लाहरुको सूचीमा पुर्याउन सकिने उहाको भनाई छ । रगतले लेखिएको संविधानको रक्षा गर्दै संघियतालाई अझ मजबुत बनाउने र मधेसी, जनजाती, दलित तथा मगर समुदायको स्वायत्तताको लागि आवश्यक संविधान संशोधन प्राथमिकतामा रहने उहाँले उल्लेख गर्नुभएको छ ।
नेपाली कांग्रेबाट उम्मेद्वार बन्नुभएका कुसुमदेवी थापाले रुकुम पूर्व बनाउने १० भिजन तयार पारेर चुनावी प्रचारप्रसारमा हुनुहुन्छ । उहाँले आफ्नो प्रतिबद्धता पत्रमा क्रमश: सडक तथा पूर्वाधार विकास, मिसन रोजगारी, शिक्षा र स्वास्थ्य, कृषि र प्राकृतिक स्रोत, पर्यटन र संस्कृति, खानेपानी र सिंचाइमा उल्लेख्य रुपमा काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । यस्तै विद्युतिकरण र दुर सञ्चार, सुशासन र संविधान, कानुन निर्माणमा भूमिका र बजेटमा समन्वय गरी रुकुम पूर्वको विकासमा योगदान दिने प्रतिबद्धता थापाले व्यक्त गर्नुभएको छ ।
यस्तै नेकपा एमालेले जिल्लाको समग्र विकासलाई केन्द्रमा राख्दै सडक यातायात, शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइ तथा जलस्रोत, सूचना–सञ्चार तथा विद्युतीकरण, उद्यम विकास तथा रोजगारी सिर्जना, कृषि–वन पैदावार तथा पशुपालन, मौलिक कला संस्कृतिको संरक्षण तथा पर्यटन प्रवर्द्धन, प्राकृतिक स्रोत व्यवस्थापन, विपद् व्यवस्थापन, युवा तथा खेलकुद, शहरी विकास, सुशासन प्रवर्द्धन, द्वन्द्वकालीन यौनजन्य हिंसा पीडितका सवाल, महिला सशक्तीकरण तथा समानताका लागि विशेष कार्यक्रमलगायतका कुराहरुलाई लिएर जनताको माझमा पुगेको छ ।
नेकपा एमालेबाट उम्मेदवार बन्नुभएका लिलामणी गौतमले जिल्लाको विकासको मेरुदण्डका रूपमा रहेको मध्यपहाडी राजमार्गको निर्माण सम्पन्न गर्ने, सहिद मार्गको यथाशीघ्र निर्माण पूरा गर्ने, देउखोला–कुमा नायगाड–सिस्ने हुँदै डोल्पा सडक सञ्जाल विस्तार गर्ने, देउखोला–जामा–त्रिवेणी–तकसेरा सडक निर्माण गर्ने, चुन्बाङ–रुकुमकोट सडक स्तरोन्नति तथा कालोपत्रे गर्ने, भुमे र सिस्ने रिङ रोड स्तरोन्नति गर्ने, सेरा–दमचन–ढोरपाटन सडक विस्तारलगायत जिल्लाका अन्य सडक सञ्जालले नछुने वडा तथा बस्तीमा पाँच महिनाभित्र सडक पहुँच पुर्याई बाह्रै महिना सुरक्षित र भरपर्दो यातायात सञ्चालन गर्ने लक्ष्य राखिएको बताउनुभएको छ ।
शिक्षण पेशालाई मर्यादित बनाउँदै शिक्षकहरूको वृत्ति विकास गरिने, भुमे गाउँपालिका लुगुममा बहुप्राविधिक शिक्षालय सञ्चालन गरिने तथा पुथा उत्तरगंगा गाउँपालिकामा स्थापना हुने क्याम्पसलाई स्रोत–साधन सम्पन्न बनाउने, सडक दुर्घटना तथा आकस्मिक बिरामीलाई लक्षित गर्दै भुमे गाउँपालिका काक्री स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी ट्रमा सेन्टरको रूपमा विकास गर्ने, खानेपानी तथा सिँचाइतर्फ ‘एक घर, एक धारा’ अवधारणाअनुसार प्रत्येक घरमा स्वच्छ खानेपानी सुविधा पुर्याइने, सिँचाइ प्रणाली स्तरोन्नति गरिने तथा जिल्लामा सञ्चालित खानेपानी योजनाहरू समयमै सम्पन्न गर्न पहल गर्ने जनाइएको छ । सूचना–सञ्चार तथा विद्युततर्फ जिल्लाका ३१ वटै वडामा केन्द्रीय विद्युत् प्रशारण लाइन विस्तार गरिने र उद्यम विकासतर्फ युवा उद्यमशीलता प्रवर्द्धन गर्दै रोजगारीको ग्यारेन्टी गरिने तथा कृषि उद्यममार्फत रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको कुरा एमालेको प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।
यस्तै प्रजातन्त्र लोकतान्त्रिक पार्टी प्रलोपाका उम्मेदवार सन्दिप पुनले पनि रुकुम पूर्वको दुर्गममा सडक, यातायातको पहुँच, जनताको स्वामित्वमा उर्जा विकास, कृषि र वनमा प्रकृतिसँग मेल खाने विकास, खानी र उद्योगमा स्रोतको सहि उपयोग, पलायन होइन उत्पादनमा आधारित युवा नीति लगाएतका कुराहरुलाई घोषणा पत्रमा उल्लेख गर्नुभएको छ । यस्तै शिक्षामा समान अवसरको आधार तयार पार्ने, शहिद परिवारको जिवनयापनको ग्यारेन्टी गर्ने, ऐतिहासिक युद्धस्थल र स्मारकको संरक्षण, जिल्लाको गौरवशाली इतिहासमा सबैको पहुँच, सिकार पर्यटनलाई व्यवस्थित गर्ने, होमस्टे, स्थानीय गाइड, सांस्कृतिक कार्यक्रम, गाउँमै पर्यटन आम्दानी सुनिश्चित, युवालाई रोजगारी, युद्ध पर्यटन प्रवर्द्धन गर्ने कुराहरुलाई घोषणा पत्रमा उल्लेख गर्नुभएको छ ।
फागुन २१ मा हुने निर्वाचनको लागि रुकुम पूर्वमा पुष्प पमल दाहाल प्रचण्ड सहित ११ जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ । यतीबेला सबैले आ-आफ्ना चुनावी प्रतिबद्धता पत्रसहित जनता रिझाउने काममा व्यस्त छन् ।

