नेपाली कम्यूनिष्ट पार्टीका संयोजक एव रुकुम पूर्वबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित पुष्प कमल दाहाल प्रचण्डले नयाँ र पुराना दलहरुको संरक्षक आफू नै रहेको बताउनुभएको छ । आज प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि मतदाता धन्यवाद र्यालीलाई रुकुमकोटमा संबोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
वरिष्ठ नेताहरु मध्येमा जनताले आफुलाई मात्र जिताएर पठाएको कारण अब सबै दलको संरक्षणको काम आफुले गर्ने उहाँले बताउनुभएको छ । अहिले देशमा राष्ट्रिय स्वतन्त्र पार्टीको लहर चलेको छ । त्यसको जिम्मा पनि आफुले नै लिनु पर्दछ भन्ने कुराको महसुस गरेको उहाँले बताउनुभयो । हिजो एमाले कांग्रेसलाई दुई तिहाइको अहकांर नगर्नुस है गल्ती हुन्छ भनेर बारम्बार संसदमा बोलिहरेको बताउदै भ्रष्टाचारको विरुद्ध लड्दै गर्दा विकास र समृद्धिको लागि लड्दै गर्दा संख्याको अहंकारले आफुलाई बाहिर पठाएको स्मरण गर्दै संयोजक दाहालले भन्नुभयो, “त्यही बेलामा मैले चुनौतिका साथ भनेको थिए संख्याले केही नापिदैन् । बंगलादेशमा एउटै पार्टीको दुई तिहाइ हुदा पनि हालत के भयो देखिएकै छ ।”
अहिले विजयी हासिल गरेका नयाँ पार्टीलाई बधाइ दिदै उहाँले त्यही अहंकार नयाँ दलले दोहोर्याए भने देशको लागि दुर्भाग्य हुन जाने संयोजक दाहालले बताउनुभएको छ । त्यस कारण नयाँ दलको नेतृत्व पनि आफैले गर्नुपर्ने कुराको महसुस गरेको उहाँले बताउनुभएको छ । साथै उहाँले धेरै सिट ल्याएका दलहरुलाई अहंकारबाट बच्न अनुरोध गर्नुभएको छ ।
“मेरो इतिहासको आधारमा म तपाइहरुको लागि धेरै ठुलो गुरु हुन सक्छु” संयोजक दाहालले भन्नुभयो, “तपाइहरुको जस्तै लहर मैले २०६४ मै देखिसकेको छु ।” त्यसैले नयाँ दलहरुलाई पनि आफुले राम्रोसँग नेतृत्व दिनुपर्दछ भन्ने महसुस गरेको भनाई उहाँको थियो ।
रुकुम पूर्वले भारी मतले यो निर्वाचनमा जिताएर ठुलो भारी बोकाएको बताउदै संयोजक दाहालले देशकै ठुलो जिम्मेवारी काधमा आएको महसुस गरेको बताउनुभयो । पूर्व प्रधानमन्त्रीहरु मध्येमा अहिले आफूमात्र विजयी हुने विचित्रको स्थिती आएको बताउदै उहाँले इतिहासलाई बोकेर हिड्नुपर्ने बताउनुभयो । “जनयुद्ध र जनआन्दोलनको इतिहास, शान्ति प्रक्रिया टुङ्ग्यएर यो देशमा स्थायत्वको निम्ति भएपनि मैले निकै ठुलो भारी बोक्नुपर्ने स्थिती आएको उहाँले बताउनुभएको छ ।

