कर्मसहि घर्ती मगर
रुकुम पुर्वको पुथा उत्तरगङ्गा गाउँपालिका स्तरीय बृहत् आँखा शिविर गाउँपालिकाको केन्द्र तकसेरामा सफलतापूर्वक सम्पन्न भएको छ ।
गत चैत ९ गतदेखि चैत १५ गतेसम्म क्रमशः रिबाङचौर, राङ्सी, कोल, मैकोट, हुकाम, डिम्मुरगैरा र तकमा पहिलो कार्यक्रम अन्तर्गत आँखाको चेकजाँच भएको थियोे । सबै केन्द्रको चेकजाँचमा करिब १४ सय ७५ जनाको उत्साहजनक उपस्थिति रहेको कर्मफ्लाइट्स फाउन्डेसन नेपालका राष्ट्रिय निर्देशक प्रेम बहादुर कुँवरले बताएका छन् । निर्देशक कुँवरका अनुसार ५० वर्षमाथिका ६५ प्रतिशत र ५० वर्षमुनिका ३५ प्रतिशत उमेरगत उपस्थिति भएको जानकारी प्राप्त भएको छ ।
दोस्रो कार्यक्रम अन्तर्गत चैत १६ र १७ गते तकसेराको महेन्द्र माविमा २८ जनाको मोतियाविन्दुको सफलतापूर्वक शल्यक्रिया भएको हिमालय आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ डा. कृष्ण गुरुङले बताएका छन् । डा. गुरुङका अनुसार केहीको दुबै आँखा शल्यक्रिया गरिएको र त्यसमा सफल भएको बताएका थिए ।
कार्यक्रम समापन चैत १८ गते महेन्द्र माविको प्राङ्गणमा भएको थियोे । समापन कार्यक्रममा धौलागिरी आँखा अस्पतालका संयोजक विनम लामिछानेले पुथा उत्तरगङ्गा गाउँपालिकामा एउटा आधारभूत आँखा उपचार केन्द्र हुनुपर्ने बताएका थिए । संयोजक लामिछानेले यदि पुथा उत्तरगङ्गा गाउँपालिकाले निकट भविष्यमा यसप्रति चासो राखेको खण्डमा आफ्नो संस्थाको तर्फबाट सहयोग आउने कुरा बताएका थिए ।
पुथाउत्तरगङ्गा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शेर बहादुर बिसीले आफुहरूले सबै कुरामा ध्यान दिए पनि नेत्र सम्बन्धि आधारभूत केन्द्र भने नबनेको बताए र आगामी दिनमा यसप्रति विशेष दिइने बताएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि पुथा उत्तरगंगा गाउँपालिकाका प्रवक्ता टिकासाई घर्तीले कर्मफ्लाइट्स नेपालले मोतियाविन्दु सम्बन्धि विशेष कार्यक्रम लिएर ठूलो काम गरेको बताए । प्रवक्ता घर्तीले कर्मफ्लाइट्स फाउन्डेसन नेपालले पुथा उत्तरगङ्गा गाउँपालिकामा थुप्रै सम्मानजनक कार्य गरेको बताएका थिए ।
आँखाको सफलता पूर्वक शल्यक्रिया गरिएका दल पुनले आफ्नो आँखा पहिलेको भन्दा राम्रो देखिएको बताएका छन् । अर्का बिरामी भरलाख पुनले आँखा शिविरले गाउँघरमा दु:ख पाएका बृद्धहरूलाई ज्योति फर्काइदिएकोमा धन्यवाद व्यक्त गरिन् ।
समापन समारोहको उद्घोषण शिक्षा शाखा सहायक प्रमुख रामप्रसाद खड्काले गरेका थिए भने सभाध्यक्ष वडा नं १० का अध्यक्ष भरत बुढाले गरेका थिए । समापन समारोहमा गाउँपालिकोको तर्फबाट प्रमुख अतिथि मार्फत् क्रियाशील संस्था, दाता, डाक्टर तथा अन्य सहयोगीलाई सम्मानपत्र प्रदान गरिएको थियोे ।

