शनिबार साझ परेको वर्षाका कारण रुकुम पुर्वमा मध्यपहाडी लोकमार्ग अवरुद्ध हुन पुगेको छ । भारी वर्षाका कारण लोकमार्गको करिब करिब दर्जनौ ठाउँमा लेदो सहितको पहिरो जाँदा लोकमार्ग अवरुद्ध हुन पुगेको हो । अन्य सहायक मार्गहरु पनि पहिरोको कारण अवरुद्ध भएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी सहायक निरीक्षक वीरबहादुर थापाले जानकारी दिनुभयो ।
जसका कारण सवारी आवागमन पूर्ण रूपमा प्रभावित भएको छ । ट्राफिक प्रहरी प्रमुख थापाका अनुसार मध्यपहाडी लोकमार्गको धौलापहिरा, काँडाबगर, किमुवोट, सुन्तलाबारी, सैपातुङ, काँक्री, सिता लगाएतका ठाउँमा पहिरो झरेको छ । यसैगरी मुरुका दुई स्थानमा पहिरि झरेको छ भने पहिरोकै कारण धाउने सडकखण्ड पनि अवरुद्ध हुन पुगेको छ ।
अहिले अवरुद्ध सडक खुलाउने कार्य सुरु भइसकेको छ । भूमे गाउँपालिकाको स्काभेटरसँग समन्वय गरी पहिरो पन्छाउने प्रयास भइरहेको ट्राफिक प्रहरीले जनाएको छ । तर मौसममा सुधार नआएसम्म यात्रा गर्दा जोखिम हुने भएकाले अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह गरिएको छ।
शनिबार साझ करिब ६ बजेबाटै रुकुम पुर्वमा विद्युत सेवा पनि अवरुद्ध छ । वर्षासँगै आएको असिनाले भित्र्याउने बेलाको गहुँ बालिमा पनि पुर्ण रुपमा क्षती पुर्याएको छ ।

