नेपाल बैंक लिमिटेड ओखलढुंगा शाखाले विद्यार्थीहरुको लागि “डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम” सञ्चालन गरेको छ । शाखाले आइतबार ओखलढुंगाको सगरमाथा जनता माध्यामिक विद्यालय, सिटीईभिटी र ओखलढुगां क्याम्पसका विद्यार्थीहरुको उपस्थितीमा सगरमाथा जनता माध्यामिक विद्यालय सिद्धिचरण ११ ओखलढुंगाको हलमा “डिजिटल बैंकिङ वित्तीय साक्षरता कार्यक्रम” सञ्चालन गरेको हो ।

मार्च २१–२७ सम्म विश्वभर चलिरहेको ग्लोवल मनि विक(जिएमडब्लु)–२०२२ को अवसरमा यो कार्यक्रम गरिएको नेपाल बैंक लिमिटेड ओखलढुंगा शाखाका प्रबन्धक सरोज कटुवालले बताउनुभयो । उहाँकाअनुसार बैंक, खाता, वचत, लगानी, डिजिटल बैंकिङ र त्यसका उपकरणहरु, पारीवारीक बजेट निर्माण जस्ता आधारभूत विषयमा जानकारी प्रदान गर्ने, वित्तीय चेतना उजागर गर्ने, समयसापेक्ष वित्तीय क्षेत्रका परिवर्तनहरुको बारेमा जानकारी गराउनुनै कार्यक्रमको मुख्य उदेश्य हो । यीनै कुराहरुको बारेमा कार्यक्रममा सहभागिहरुलाई जानकारी गराइएको शाखा प्रबन्धक कटुवालले बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल ईन्सोरेन्स कम्पनी ओखलढुंगा शाखाका प्रमुख भूपेन्द्र पराजुलीले वित्तीय ग्रामीण भेगमा वित्तीय पहुँच बढाउन बैंकहरुले समयसापेक्ष यस्ता कार्यक्रमहरु गर्नुपर्ने आवश्यकता रहेको औल्याउनुभयो । यस्तै प्राध्यापक÷ईन्जिनियर सन्तोष लुईटेलले समयको बदलिदो परिवर्तनसँगै बैंकहरुले आफ्नो सुचना प्रविधीलाई अध्यावधिक गर्दै डिजिटल बैंकिङलाई विशेष प्राथामिकता दिनुपर्ने बताउनुभयो ।

बैंकका सहायक शाखा प्रबन्धक युवराज खड्काले बैंक समाजकै अभिन्न र अपरिहार्य अङ्ग भईसकेकाले बैंक र समाज सगँसगैं हातेमालो गर्दै अगाडी बढ्न सके सबैलाई फाईदा हुने बताउनुभयो । यस्तै सगरमाथा जनता माध्यामिक विद्यालयका प्रध्यानाध्यापक डिल्लीराम कार्कीले यस कार्यक्रमले विद्यार्थीहरुलाई वित्तीय रुपमा जागरुक बनाउने विश्वास व्यक्त गर्नुभयो । साथै कार्यक्रममा सहभागी विद्यार्थी निशा विश्वकर्माले यस कार्यक्रमबाट डिजिटल बैंकिङ सम्बन्धी धेरै नयाँ अवधारणहरुको बारेमा जानकारी लिन पाएको बताउनुभएको छ ।

कार्यक्रमको सञ्चालन बैंकका कर्मचारी पूर्णकला दाहालले गर्नुभएको थियो ।