
रुकुम(पूर्व) को भूमे गाउँपालिका २ काँक्रिमा रहेको त्रिवेणी माविलाई भूतपूर्व विद्यार्थीले आर्थिक सहयोग गरेका छन् । विद्यालयको शैक्षिक सुधारमा टेवा पुगोस भनेर तीन जना भूतपूर्व विद्यार्थीले विद्यालयलाई आर्थिक सहयोग गरेका छन् ।
पहिले त्रिवेणी माविमै अध्यन गर्नुभएका धप बुढाले विद्यालयलाई एक लाख आर्थिक सहयोग गर्नुभएको विद्यालयका प्रधानाध्यापक इन्द्रजित रावलले बताउनुभयो । उहाँकाअनुसार बुढा अहिले अमेरीकामा हुनुहुन्छ । यसैगरी बाघ घर्तीका छोरा रविन्द्र घर्ती र रविना घर्तीले २५÷२५ हजार रुपैयाँ विद्यालयलाई सहयोग गर्नुभएको छ । उहाँहरु दुवै जना अहिले नेपालमै हुनुहुन्छ । उहाँहरु तीनै जना काँक्रिका स्थानीय बासिन्दा रहको प्रधानाध्यापक रावलले बताउनुभयो ।
बाल्यकालमा आफुले पढेको विद्यालयलाई आर्थिक रुपमा थोरै भएपनि राहत मिलोस भन्ने उदेश्यका साथ सकेको सहयोग गरेको तीनै जना भूतपूर्व विद्यार्थीहरुले बताउनुभएको छ । विद्यालय परिवारले पनि रविन्द्र र रविनालाई एक कार्यक्रमको आयोजना गरि धन्यवाद ज्ञापन गरेको छ भने धप बुढा अमेरीकामा रहेकाले उहाँलाई पनि नेपाल आएको बेलामा कार्यक्रमको आयोजना गरि धन्यवाद ज्ञापन गरिने विद्यालयले जनाएको छ ।
भूतपूर्व विद्यार्थीको सहयोगमा जम्मा भएको एक लाख ५० हजार रकम अहिले विद्यालयको मुद्धती खातामा जम्मा गर्ने र विद्यालयको आवश्यकताअनुसार खर्च गरिने प्रअ रावलले बताउनुभएको छ ।