काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले देशभर स्थानीय तहको निर्वाचन केन्द्रित अभियान थाल्ने निर्णय गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार बसेको पदाधिकारी बैठक (हाइकमान्ड)ले स्थानीय तह निर्वाचन आफ्नो पक्षमा पार्न आवश्यक रणनीति तय गर्दै देशभर स्थानीय तहको निर्वाचन केन्द्रित अभियानलाई व्यापक पार्ने निर्णय गरेको हो ।

एमालेको १९ जना पदाधिकारी सचिवालय सदस्य हुन् । बैठकमा सबैजसोले स्थानीय तहको निर्वाचनमा एमालेलाई विजयी बनाउनुपर्ने गरी सशक्त अभियान थाल्नुपर्नेमा जोड दिएका थिए । बैठकमा बोल्दै एमाले अध्यक्ष ओलीले अब पार्टीको सम्पूर्ण शक्ति चुनाव केन्द्रित गर्नुपर्ने बताएका थिए ।

अहिलेको सरकार स्थानीय तहको चुनाव सार्ने षड्यन्त्रमा लागे पनि एमाले र अरूको दबाबले हच्किएको ओलीले बताए । ‘संविधानअनुसार फागुनभित्र निर्वाचन गरिसक्नुपथ्र्याे, यस सम्बन्धमा हामीले सरकारलाई पटक–पटक ध्यानाकर्षण पनि गराएका हौं’, ओलीले बैठकमा भने ‘तर सरकार संविधान कार्यान्वयन, लोकतान्त्रिक अभ्यास र संघीयताको कार्यन्वयन गर्नुभन्दा पनि सत्ता स्वार्थमा केन्द्रित भयो ।’ दबाबमा परेर चुनाव गराउने कुरा गरे पनि यो गठबन्धनको भर नभएको ओलीको भनाइ थियो ।

निर्वाचन आयोग, राष्ट्रपति र एमालेसहित जनसमुदायको निरन्तरको ताकेताले मात्रै गठबन्धनले चुनाव गर्ने भने पनि दबाब भने निरन्तर दिइरहनुपर्ने आवश्यकता ओलीले औंल्याए । सो पदाधिकारी बैठकले स्थानीय निर्वाचनमा केन्द्रित भई केन्द्रीय र प्रदेशस्तरमा अगुवा कार्यकर्ता भेला आयोजना गर्ने निर्णयसमेत गरेको छ । ओलीले सत्ता गठबन्धन चुनावमा जसरी आए पनि सामना गरिने बताएका थिए । ओलीले स्थानीय तहको निर्वाचनले एमालेलाई अझै बलियो शक्तिका रूपमा स्थापित गर्ने दाबी गरे । ओलीले एमाले चुनावमा विवादरहीत ढंगले जानुपर्नेमा जोड दिएका थिए ।

विवाद उत्पन्न हुन सक्ने विषय थाती राख्ने निर्णय बैठकले गरेको छ । राष्ट्रियसभाको निर्वाचनमा अन्तरघात गर्नेलाई छानबिन गरेर कारबाही गर्न सम्बन्धित प्रदेश कमिटीलाई निर्देशन दिएको बैठकले युवा, विद्यार्थी, महिला र किसान संगठनका महाधिवेशन तत्काललाई स्थगित गर्ने निर्णय गरेको छ । त्यस्तै नेतृत्वका लागि विवाद हुन सक्ने पार्टीको प्रदेश अधिवेशन पनि हाललाई स्थगित गरिएको छ । बैठकले स्थानीय निर्वाचनपछि प्रदेश अधिवेशन गर्ने निर्णय लिएको छ ।

एमसीसीमा मौन सार्वजनिक चासोका रूपमा रहेको एमसीसीको विषयमा भने बैठकमा कुनै छलफल नै भएन । एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बैठकमा एमसीसी’bout कुनै छलफल नभएको र त्यससम्बन्धमा बैठकमा कुनै एजेन्डा नै नभएको बताए । एमालेले लगातार जसो एमसीसीबारे गठबन्धनले धारणा बनाएपछि मात्रै आफूले आवश्यक निर्णय लिने बताएको छ । एमालेले एमसीसी पास गर्ने वा नगर्ने सत्ता गठबन्धनको विषय भएको र आफ्नो भूमिका नरहेको भन्दै आएको छ ।