मध्यपहाडी लोकमार्ग सुचारु नहुँदा यात्रुहरु समस्यामा परेका छन् । हिमपातका कारण यहि माघको १८ गतेबाट अबरुद्ध भएको मध्यपहाडी लोकमार्ग पूनः सञ्चालनमा नआउदा समस्या भएको हो । गएको साता भएको हिमपातको कारण सडक अबरुद्ध बन्न पुगेको हो । सडकमा पाँच फीटसम्म हिउँ जमेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) का प्रहरी नायव उपरिक्षक (डिएसपी) गनेशबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

बाटोमा जमेको हिउँ तत्काल हटाउने सम्भावना नरहेको पनि डिएसपी श्रेष्ठले बताउनुभयो । बाटोमा जमेको हिउँ पन्छाउन खोज्दा डोजर नै चिप्लिएर दुर्घटना हुन सक्ने भन्दै दुईचार दिन अझै बाटोमा जमेको हिउँ पन्छाउन नसकिने उहाँको भनाई छ । हिउँ खेल्नको लागि जाने आन्तरिक पर्यटकहरु पनि रुपगाँसम्म जाने गरेका छन् । रुपगाँ भन्दा माथी पट्टीको भागमा मानिसहरु पनि पैदल जान सकेका छैनन् । गाडी लकुमसम्म मात्र पुग्ने गरेका छन् ।

मध्यपहाडी लोकमार्ग अबरुद्ध हुँदा रुकुम (पूर्व), रुकुम (पश्चिम), रोल्पाबाट बागलुङ हुँदै पोखरा, काठमाडौं जाने यात्रुहरु समस्यामा परेका छन् भने काठमाडौंबाट जिल्ला भित्रिनेहरु पनि समस्यामा परेका छन् । कतीपय रुकुम, रोल्पा आउने मानिसहरु काठमाडौं, पोखरा थुनिएका छन् भने काठमाडौं, पोखरा जाने यात्रुहरु पनि रुकुम, रोल्पामै थुनिएर बसेका छन् । कतीपयले सल्यान, दाङ, वुटवल हुदै लामो दुरीको यात्रा गर्नुपरेको बताएका छन् । वर्षेणी यसै समयमा हिमपातको कारण मध्यपहाडी लोकमार्गको लकुम–पातीहाल्ना खण्ड अबरुद्ध हुने गर्दछ ।

यस्तै हिमपातको कारण सहिदमार्ग पनि अबरुद्ध छ । सहिदमार्गको रिका खण्डमा बाक्लो हिउँ जम्दा पुथाउत्तरगंगा गाउँपालिकाका नागरिकलाई समस्या भएको छ । पुथाउत्तरगंगाबासीलाई सदरमुकाम रुकुमकोट आउन जान समस्या भएको हो । सहिदमार्गको रिका खण्डमा जमेको हिउँ पन्छाउन पनि केहि समय लाग्ने जिल्ला प्रहरी प्रमुख (डीएसपी) श्रेष्ठले बताउनुभएको छ ।