हिक्मत प्रोतेल


रुकुम (पूर्व) को पुथाउत्तरगंगा गाउँपालिकामा अध्यक्ष कप २०७८ को उद्धघाटन गरिएको छ । पुथाउत्तरगंगा गाउँपालिका युवा विकास केन्द्रले गाउँपालिकाको आर्थिक सहयोगमा अध्यक्ष कपको आयोजना गरेको हो । युवा विकास केन्द्रले अध्यक्ष कपमा वडास्तरीय महिला, पुरुष भलिबल प्रतियोगिता, पुरुष फुटबल र खुला ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।

प्रतियोगिताको बुधबार उद्धघाटन गरिएपनि हिममपातको कारण खेल भने सञ्चालन गर्न नसकिएको आयोजकले जनाएको छ । हिउँ पर्न नरोकिएसम्म खेल सञ्चालन गर्न मुस्किल हुने युवा विकास केन्द्र पुथाउत्तरगंगा गाउँपालिकाका अध्यक्ष टिकासाही घर्तीले बताउनुभयो । फुटबलमा प्रथम स्थान हासिल गर्नेलाई ५० हजारको साथमा कप, मेडल र प्रमाणपत्र, दोस्रो स्थान हासिल गर्नेलाई ४० हजारको साथमा मेडल र प्रमाणपत्र, तेस्रो स्थान हासिल गर्नेलाई ३० हजारको साथमा मेडल र प्रमाणपत्र पुरस्कार वितरण गरिने अध्यक्ष घर्तीले बताउनुभयो ।

उहाँकाअनुसार भलिबल प्रतियोगितातर्फ महिला पुरुष दुवैलाई प्रथम स्थान हासील गर्नेलाई कप, मेडल र प्रमाणपत्रको साथमा ५० हजार, दोस्रो स्थान हासिल गर्नेलाई ४० हजारको साथमा मेडल र प्रमाणपत्र, तेस्रो स्थान हासिल गर्नेलाई ३० हजारको साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यस्तै खुला ब्याडमिन्टन प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेलाई कप, मेडल र प्रमाणपत्रको साथमा २० हजार, दोस्रोलाई १५ हजार र तेस्रो हुनेलाई १० हजारको साथमा मेडल, प्रमाणपत्र प्रदान गरिने युवा विकास केन्द्रका अध्यक्ष घर्तीले बताउनुभयो ।

युवा विकास केन्द्रका अध्यक्ष टिकाशाही घर्तीको अध्यक्षतामा उद्घाटन भएको अध्यक्ष कप कार्यक्रममा गाउँपालिका अध्यक्ष ओमप्रकाश घर्तिको प्रमुख र गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाही मल्लको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा सबै वडाका वडाध्यक्ष तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन युवा विकास केन्द्रका सचिव नामेन्द्र सुनारले गर्नुभएको थियो ।