
रुकुम (पूर्व) को पुथाउत्तरगंगा गाउँपालिकाले १२ औ गाउँसभाबाट चार वटा विधेयक पारित गरेको छ । गाउँसभाले एउटा कार्यविधि र एउटा निर्देशिका पनि पारित गरेको छ । गाउँसभाले गाउँपालिकाको खानेपानी, सरसफाई तथा स्वच्छता विधेयक २०७८, गाउँपालिकाको वन विधेयक २०७८, गाउँपालिकाको भूमी विधेयक २०७८ र गाउँपालिकाको कृषि विधेयक २०७८ पारित गरेको छ ।
यस्तै संक्षिप्त वातावरणीय अध्यन तथा प्रारम्भिक वातावरणीय परिक्षण कार्यविधि २०७८, महिला÷आमा समुहको गठन तथा कार्य सञ्चालन निर्देशिका २०७८ पारित गरिएको छ । गाउँपालिकाको स्वास्थ्य निति निर्माण गर्न कार्यदल पनि निर्माण गरिएको छ । गाउँपालिकाका अध्यक्ष ओमप्रकाश घर्तीको अध्यक्षतामा कार्यदल गठन गरिएको हो । चालु आर्थिक वर्षमा विभिन्न शाखामा खर्च भएको रकम र गरेको रकमान्तरलाई अनुमोदन गरेको गाउँपालिकाका प्रवक्ता एवम् ८ नम्बर वडाध्यक्ष भिमबहादुर मल्लले जानकारी दिनुभयो ।
उहाँकाअनुसार वडा नम्बर २ को रल तिज्याङ क्षेत्रका नागरिकलाई लक्षित गरी रलबाङमा सामुदायिक स्वास्थ्य इकाई निर्माणको प्रक्रिया अघि बढाउने, गाउँपालिका आफैले कार्याविधि बनाइ लागु गरेको छात्रावृती अनुदान सहायता कार्यक्रमलाई आगामी वर्षहरुमा निरन्तरता दिने निर्णय भएको छ । वडा नम्बर ५, १ र २ बिच भएको सम्झौताअनुसार हुकामदेखि मैकोटसम्म सहिदमार्ग डिभिजन कार्यालय रोल्पालाई डिपिआर बमोजिम नै निर्माणको काम अघि बढाउन सिफारीस गर्ने र हुकाम, काजरजंग पेल्मा ढोरपाटन जोड्ने सडकखण्डलाई पनि सहिदमार्गको खण्ड मानि काम अघि बढाउन सहिदमार्ग डिभिजन कार्यालयमा माग गर्ने निर्णय गरिएको छ ।
ढेरपाटन शिकार आरक्ष सम्बन्धि मध्यवर्तिको अवधारणालाई जनताको अग्रिम सहमतिबिना तत्काल अस्विकार गरी समुदायमा स्वव्यवस्थापन स्वामित्व हस्तान्त्रण गर्न नेपाल सरकार तथा प्रदेश सरकार समक्ष माग गर्ने निर्णये गरिएको छ । यस्तै गाउँपालिकाका लेखा शाखा प्रमुख नवराज खड्का र स्वास्थ्य शाखा प्रमुख समिर गीरीलाई कार्यालयको कामकाजमा प्रभाव नपर्ने गरी सर्वाङ्गीन विकास केन्द्रमा बस्न अनुमति दिने निर्णय गरिएको प्रवक्ता मल्लले बताउनुभयो । गाउापालिकामा प्रदेश र संघबाट आएको समपुरक, विशेष अनुदान खर्च हुन नसकेको खण्डमा स्थानीय संचित कोषमा जम्मा गरी आगामी आर्थिक वर्षमा खर्च गर्ने स्विकृती दिन संघ र प्रदेश सरकारलाई माग गरी पठाउने निर्णय गरिएको छ ।
वडा नम्बर १३ मा रहेको ओख्मा खोला लघुजलविद्युत आयोजनाको लाईन विस्तारको लागि आवश्यक बजेट व्यवस्थाको लागि र वडा नम्बर १२ को क्यूबाङ, कोल, राङसी, नाखा हुदै जामाबगरसम्मको ग्रामीण सडक खण्डलाई कालोपत्रे गर्न संघ र प्रदेशमा बजेट माग गर्ने निर्णय गरिएको प्रवक्ता मल्लले बताउनुभयो । उहाँकाअनुसार तकसेरालाई बागलुङ जिल्लाको ढोरपाटन उपत्याकासँग जोड्न प्रदेश तथा संघ सरकारमा बजेट माग गर्ने निर्णय पनि गरिएको छ ।
साथै निर्माण हुने लागेको सानीभेरी उत्तरगंगा साना जलविद्युत परियोजना (९९८) किलोवाट निर्माण गर्न जनस्तरबाट संकलन गर्नुपर्ने इक्विटी रकम जम्मा हुन नसकेमा सो परियोजनालाई गाउँपालिकाको स्वामित्वमा लिएर गाउँपालिकाको गाउँसभाबाट आगामी आर्थिक वर्षमा आवश्यक बजेट बिनियोजन गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।