रुकुम(पूर्व) मा १० हजार बढी मतदाता थपिएका छन् । २०७४ सालको स्थानीय तह चुनाव पछि जिल्लामा नयाँ १० हजार ३ सय ६२ जना मतदाता थपिएका हुन् । योसँगै जिल्लामा मतदाता संख्या ३४ हजार ८ सय ४४ जना पुगेको निर्वाचन कार्यालयका सुचना अधिकारी हर्कबहादुर शाहीले जानकारी दिनुभयो ।

२०७४ सालमा भएको स्थानीय तह चुनावमा मतदाताको संख्या २४ हजार ४ सय ८२ रहेको थियो । अहिले भूमे गाउँपालिकामा ११ हजार ८ सय ८७, सिस्ने गाउँपालिकामा ११ हजार ४ सय ८९ र पुथाउत्तरगंगा गाउँपालिकामा ११ हजार ४ सय ६८ जना मतदाता संख्या रहेको सूचना अधिकारी शाहीले बताउनुभयो ।

यसैगरी जिल्लामा ४ वटा नयाँ मतदान स्थल थप भएका छन् । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका १० को आधारभूत विद्यालय घुम्लिबाङ, सिस्ने गाउँपालिका २ को मावि नायगाड, सिस्ने ४ को आधारभूत विद्यालय झाँक्रीपोले र सिस्ने ६ को आधारभूत विद्यालय खोपीचारमा नयाँ मतदान स्थल थप भएको निर्वाचन कार्यालयले जनाएको छ । ३१ वटा वडा रहेको यस जिल्लामा यस अघि एक वडामा एक मतदान स्थल रहेको थियो । अब जिल्लामा मतदान स्थल संख्या ३५ पुगेको छ ।