रुकुम (पूर्व) मा जिल्ला कोभिड व्यवस्थापन समितिले जिल्लाबासीलाई स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न आग्रह गरेको छ । कोरोना भाइरस संक्रमणको जोखिम अझै टरिनसकेकाले सबैलाई स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न कोभिड व्यवस्थापन समितिले आग्रह गरेको हो । समितिका संयोजकसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी लक्ष्मिप्रसाद बाँस्कोटाको अध्यक्षतामा शुक्रबार बसेको बैठकले सबै प्रकारका आमसभा जुलुस, सभा, भेला, सम्मेलन, जात्रा, महोत्सव, पट्के हाटबजार, मानिसहरुको भिडभाड हुन नदिने निर्णय गरेको छ ।

फागनुको १ गतेबाट स्वास्थ्य मापदण्ड पालना गरेर शैक्षिक क्रियाकलाप सञ्चालन गर्न सकिने छ । १२ वर्ष पुरा भएकाको हकमा नियमित र १२ वर्ष पुरा नभएका विद्यार्थीको हकमा विद्यार्थी संख्या विचार गरी आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालनको व्यवस्था गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी बाँस्कोटाले बताउनुभयो । उहाँकाअनुसार सबै नागरिकलाई जनस्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गर्न, मास्कको अनिवार्य प्रयोग गर्न, घर बाहिर निस्कदा अनिवार्य खोप लगाएको खोप कार्ड वा सोको फोटोे साथमा राख्न, कोभिड १९ बिरुद्धको खोप लगाउन आग्रह गर्ने निर्णय गरेको छ ।

यस्तै जिल्लामा फागुन १ गतेबाट ५० जना दर्शकको उपस्थितीमा खेलकुदका गतिविधि सञ्चालन गर्न अनुमती दिइने भएको छ । खेलाडी र दर्शक सबैले खोप भने अनिवार्य लगाएको हुनुपर्ने छ । होटेलमा काम गर्नेलाई मास्क, पञ्जाको प्रयोग, भौतीक दुरी कायम गर्नुका साथै खोप कार्डको आधारमा बास बसाल्न होटेल व्यवसायीलाई निर्देशन दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी बाँस्कोटाले बताउनुभयो । यातायात व्यवसायीलाई पनि यात्रुहरुलाई मास्क अनिवार्य गर्ने, सेनीटाइजरको व्यवस्था गर्न निर्देशन दिने बताइएको छ ।

जिल्लामा कोभिड बिरुद्धको खोप कार्यक्रम शत प्रतिशत बनाउन खोपको दायरा बढाउने, एन्टिजीन परिक्षणको दायरा बढाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी बाँस्कोटाले बताउनुभएको छ ।