रुकुम (पूर्व) मा विभिन्न कार्यक्रम गरी २७ औ जनयुद्ध दिवस मनाइएको छ । जिल्लामा नेकपा माओवादी केन्द्रले शुभकामना आदानप्रदान, दिपावली, चियापन, सहिद परिवार सम्मान तथा खेलकुद प्रतियोगिताको आयोजना गरि जनयुद्ध दिवस मनाइएको हो । पार्टी सिस्ने गाउँकमिटीले चियापान तथा शुभकामना आदानप्रदान गरेर जनयुद्ध दिवस मनाएको छ । गाउँ ममिटीले छिप्रीदहमा रहेको महिला भवनमा कार्यक्रमको आयोजना गरेको हो ।

चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र सिस्ने गाउँकमिटीका इन्चार्ज एवम् लुम्बिनी प्रदेश कमिटीका सदस्य कृष्ण रेग्मिले जनयुद्धको बेलामा भएका घटनाक्रमलाई स्मरण गर्दै सहिदहरुले देखेका सपना पुरा गर्ने अभिभारा सबैको भएको बताउनुभयो । जनयुद्ध जनआन्दोलनका घाइते, बेपत्ता र सहिद परिवार सबैलाई न्याय हुने काममा जोड दिनुपर्ने भनाई उहाँको थियो । इन्चार्ज रेग्मिले अहिले प्रतिक्रियावादीले हाम्रो नेतृत्वलाई प्रहार गरिरहेको बताउदै त्यसको खण्डण कम्यूनिष्ट सबैले गर्नुपर्ने बताउनुभयो ।

माओवादी केन्द्र जनयुद्धबाट यहाँसम्मको अवस्थामा स्वतन्त्र धारबाट भएको बताउदै उहाँले प्रतिक्रियावादलाई एक्ल्याउदै र नेतृत्वलाई विश्वास गर्दै कलात्मक ढंगले एकता कायम गरेर अघि बढ्नु नै अहिलेको आवश्यकता रहेको इन्चार्ज रेग्मिले बताउनुभयो । सिस्ने गाउँ कमिटीका अध्यक्ष मन्सराम खड्का भिक्टर र उपाध्यक्ष भद्रि थापाले जनयुद्धमा आहुती दिएका सहिदहरुको सपना कसरी पुरा गर्ने भन्ने बारेमा सबै गम्भिर बन्नुपर्नेमा जोड दिनुभएको छ ।

यस्तै भूमे गाउँपालिकामा पनि पार्टी गाउँकमिटीले चियापान, तथा शुभकामना आदानप्रदान गरेर जनयुद्ध दिवस मनाएको छ । जिल्लाका तीन वटै पालिकाका ३१ वडाले शुभकामना आदानप्रदान, दिपावली तथा चियापन कार्यक्रम र विभिन्न प्रतियोगिता आयोजना गरेर २७ औ जनयुद्ध दिवस मनाएका छन् ।

घाइते अपाङ्ग, बेपत्ता तथा सहिद परिवारलाई सम्मान

रुकुम (पूर्व) को पुथाउत्तरगंगा गाउँपालिकाले जनयुद्ध दिवसको अवसर पारी घाइते, अपाङ्ग, बेपत्ता तथा सहिद परिवारलाई सम्मान गरेको छ । गाउँपालिकाले २७ औ जनयुद्ध दिवसको अवसर परी गाउँपालिकाको केन्द्र तकसेरामा सम्मान कार्यक्रमको आयोजना गरेको थियो । गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाही मल्लले गाउँपालिका भित्रका एक सय २४ जनालाई सम्मान गरेको बताउनुभयो ।

सहिद परिवार ८९ जना र घाइते ३५ जनालाई सम्मान गरिएको हो । उनिहरु सबैलाई खादा र नगद दुईदुई हजारले सम्मान गरिएको छ । जनयुद्ध दिवसको अवसर पारी आयोजना गरिएको घाइते, अपाङ्ग, बेपत्ता तथा सहिद परिवार सम्मान कार्यक्रममा शुभकामना आदानप्रदान तथा चियापान गरिएको छ ।

वडास्तरीय महिला पुरुष भलिवल प्रतियोगिता सञ्चालन

रुकुम (पूर्व) को सिस्ने गाउँपालिका वडा नम्बर ५ ले जनयुद्ध दिवसको अवसर पारी महिला पुरुष भलिबल प्रतियोगिताको आयोजना गरेको छ । वडाले २७ औ जनयुद्ध दिवसको अवसर पारेर युवा खेलकुद विकास कार्यक्रम समितिमार्फत प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगिताको आज एक औपचारिक कार्यक्रमका बिच सिस्ने गाउँपालिका अध्यक्ष र नेकपा माओवादी केन्द्र सिस्ने गाउँ कमिटीका इन्चार्ज कृष्ण रेग्मिले उद्धघाटन गर्नुभएको हो । प्रतियोगितामा २७ समुहले नाम दर्ता गराएका छन् । महिलातर्फ ७ समुह र पुरुष भलिबलतर्फ २० समुहले नाम दर्ता गराएको नेकपा माओवादी केन्द्र सिस्ने गाउँपालिका ५ का वडाध्यक्ष एवम् खेल संयोजक प्रकाश कार्कीले जानकारी दिनुभयो । उहाँकाअनुसार आज खेलकुद प्रतियोगिताको उद्धघाटन गरिएपनि खेल सञ्चालन भने भोलीबाट हुने संयोजक कार्कीले बताउनुभयो ।

उहाँकाअनुसार महिला भलिबल प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेलाई २० हजार, दोस्रो स्थान हासिल गर्नेलाई १५ हजार, तेस्रो स्थान हासिल गर्नेलाई १० हजार र सान्तवना स्थान हासिल गर्नेलाई ५ हजार पुरस्कार प्रदान गरिने भएको छ । यस्तै पुरुष भलिबल प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेलाई ५१ हजार, दोस्रो स्थान हासिल गर्नेलाई ३१ हजार, तेस्रो स्थान हासिल गर्नेलाई २१ हजार र सान्तवना स्थान हासिल गर्नेलाई ११ हजार पुरस्कार प्रदान गरिने खेल संयोजक कार्कीले बताउनुभएको छ ।

स्नोकर टुर्नामेन्ट सुरु

रुकुम (पूर्व) को सिस्ने गाउँपालिकामा स्नोकर टुर्नामेन्ट सुरु भएको छ । २७ औ जनयुद्ध दिवसको अवसर पारी योङ कम्यूनिष्ट लिग वाइसीयल सिस्ने गाउँपालिकाले आयोजना गरेको स्नोकर टुर्नामेन्टको आज उद्धघाटन गरिएको हो । टुर्नामेन्ट छिप्रीदहमा सञ्चालन भइरहेको छ ।

टुर्नामेन्टमा रुकुम (पूर्व) को सिस्ने र भूमे गाउँपालिकासहित रुकुम (पश्चिम) बाट खेलाडीहरुले भाग लिएका छन् । टुर्नामेन्टमा १५ टीमले प्रतिस्पर्धा गरिरहेको वाइसीयल सिस्ने गाउँपालिकाले जानकारी दिएको छ । टुर्नामेन्टमा प्रथम स्थान हासिल गर्नेलाई १५ हजार, दोस्रो स्थान हासिल गर्नेलाई १० हजार र तेस्रो स्थान हासिल गर्नेलाई पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।

आयोजकका अनुसार प्रथम पुरस्कारको प्रायोजन निर्माण व्यवसायी संघ रुकुम (पूर्व) का अध्यक्ष सविन पुन, दोस्रो पुरस्कारको प्रायोजन राजन एण्ड रजन कन्स्ट्रक्सन प्रालीका सञ्चालक दुर्गा बोहोरा र तेस्रो पुरस्कारको प्रायोजन वाइसीयल रुकुम (पूर्व) का संयोजक भाष्कर रेउलेले गर्नुभएको छ । खेल भोलीसम्म चल्ने छ ।

पार्टी वडा कार्यालय उद्धघाटन

रुकुम (पूर्व) को सिस्ने गाउँपालिका वडा नम्बर ३ मा नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय उद्धघाटन गरिएको छ । २७ औ जनयुद्ध दिवसको अवसर पारी पार्टीको वडा कार्यालयको उद्धघाटन गरिएको हो । सिस्ने गाउँपालिका इन्चार्ज एवम् लुम्बिनी प्रदेश कमिटी सदस्य कृष्ण रेग्मिले वडा कर्यालयको उद्धघाटन गर्नुभएको हो । आजकै दिनमा उद्धघाटन गरिएको कार्यालयमा आवश्यक पर्ने विभिन्न सामाग्रीहरु विभिन्न व्यक्तिले प्रायोजनसमेत गरेका छन् । यस्तै सहिद परिवारलाई सम्मान पनि गरिएको छ ।

भूमे गाउँपालिका वडा नम्बर ३ मा पनि जनयुद्ध दिवसकै अवसर पारेर पार्टी कार्यालयको उद्धघाटन गरिएको पार्टी वडाध्यक्ष चन्द्र रसाइलीले जानकारी दिनुभयो ।