रुकुम (पूर्व) को पुथाउत्तरगंगा गाउँपालिका १ मैकोटमा चालु आर्थिक वर्षको योजनाहरु सञ्चालन हुन सकिरहेका छैनन् । १ नम्बर वडामा नयाँ आर्थिक वर्ष सुरु भएदेखि हालसम्मको अवधिमा तीन वटा योजनाको काम मात्र सुरु भएको छ । वडामा जम्मा १० वटा योजना छन् । ७ वटा योजनाहरुको काम अझै सुरु हुन नसकेको वडा कार्यालयले जनाएको छ ।

पुथाउत्तरगंगा गाउँपालिकाको १ नम्बर वडा धेरै चिसो हुने र भौगोलिक विकटता भएको ठाउँ भएकाले पनि सञ्चालन हुनुपर्ने योजनाहरुको काम समयमै सुरु हुन नसकेको गाउँपालिकाका कार्याबहक अध्यक्ष मग कामीले जानकारी लिदनुभयो । १ नम्बर वडाबाट गाउँपालिकाको केन्द्र तकसेरामा योजना सम्झौताको लागि आउनुपर्यो भने ४ दिन देखि एक सातासम्म लाग्ने गरेको कार्यबाहक वडाध्यक्ष कामीले बताउनुभयो । उहाँकाअनुसार नयाँ आर्थिक वर्ष सुरु भएसँगै पहिलो त्रैमासिकमा योजना सम्झौताको काम गरिएपनि कात्र्तिक सुरु भएसँगै चिसोले कामकाज गर्न सकिएन् । दुई वटा योजना सम्झौताको काम भने बाकी नै छ ।

माघ महिना भरिमा हिमपातले कामकाज प्रभावित बन्न पुगेको छ । अब मात्रै यी योजनाहरुको काम सुरु हुने भएका छन् । अहिलेसम्म १५ लाखको मैकोट माविको भवन निर्माण, १० लाखको जुनाङ–क्युजा–दोगाडी–पुथा अवलोकन पदमार्ग र ६ लाखको जुनाङ बाल शिक्षा भवन निर्माणको काम मात्र सुरु भएको वडाले जनाएको छ । १० लाखको पुसर–दुक्सिमा पदमार्ग, १० लाखकै पुसर प्रावि घेराबार, ६ लाखको पुसर तारबार घेराउको काम सम्झौता भएर पनि सुरु हुन सकेका छैनन् । १० लाखको मैकोट–दुले–पीढी–पुपाल–पूर्वाङ–जंगाभन्ज्याङ सिग्नल पर्यटन बोर्ड र १५ लाखको मैकोट पुन संग्राहलय निर्माणको काम पनि सुरु नभएको कार्यबहक वडाध्यक्ष कामीले बताउनुभयो ।

१० लाखको क्वाचिमा खानेपानी धारा निर्माण र १० लाखको गाइवस्तुको लागि मैकोट दलित बस्तिदेखि कोँ हुँदै दालचौतारसम्म बाटो र कुवा निर्माणको योजनाको भने सम्झौता भएको छैन् । अहिलेसम्म सडक नपुगेको, भौगोलिक कठिनाइ र हिउदको समयमा अत्याधिक चिसो हुने हुँदा समयमै विकास निर्माणका कामकाज गर्न समस्या हुने गरेको वडा कार्यालयले जनाएको छ ।