रुकुम (पूर्व) को सिस्ने गाउँपालिकामा पालिकास्तरीय स्वास्थ्य बिमा संयोजन समिति गठन गरिएको छ । गाउँपालिका अध्यक्ष कुमारी बरालको संयोजकत्वमा ८ सदस्यीय बिमा संयोजन समिति गठन गरिएको हो । समितिमा गाउँपालिका भित्रको सबैभन्दा बढी जनसंख्या भएको वडा ४ नम्बरका वडाध्यक्ष दलराज घर्ती, रुकुम (पूर्व) अस्पतालका डाक्टर पूर्ण पुन, सामाजिक विकास समिति सभापती भद्री थापा सदस्यमा रहनुभएको छ ।

यस्तै महिला स्वास्थ्य स्वयमसेविका मधुदेवी गौतम, गाउँपालिका स्वास्थ्य संयोजक सुरेन्द्र यादव, स्वास्थ्य बिमा बोर्डबाट सपना पुन (विष्ट) सदस्यमा रहनुभएको छ । समितिको सदस्य सचिवमा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत चिन्तामणी दाहाल रहनुभएको छ । रुकुम (पूर्व) का नागरिकहरुले अपेक्षीत रुपमा स्वास्थ्य बिमा गरेका छैनन् । बिमालाई बढ्वा दिनको लागि पालिकास्तरीय संयोजन समितिले काम गर्ने छ ।

यसअघि स्वास्थ्य बिमा गरेकाहरुको उपचार गर्ने व्यवस्था जिल्लामा थिएन् । बिमा गरेकाहरु उपचारको लागि रुकुम (पश्चिम) सल्ले अस्पातालमा जाने गरेका थिए । यसले गर्दा पनि बिमाप्रती मानिसहरुको आकर्षण कम भएको हुन सक्ने गाउँपालिका अध्यक्ष बरालले बताउनुभयो । अहिले भने स्वास्थ्य बिमा गरेकाहरुको उपचार गर्ने व्यवस्था रुकुम (पूर्व) अस्पतालमा पनि गरिएको छ । यसले गर्दा पनि अब जिल्लामा स्वास्थ्य बिमा गर्नेहरुको संख्यामा वृद्धि हुन सक्ने अनुमान गरिएको छ ।

५ सदस्य रहेको एक घरपरिवारले एक वर्षअवधिका लागि ३ हजार ५ सय रुपैयाँ तीरेर बिमा गर्छन् । त्यसवापत उनिहरुले एक लाख रुपैयाँ बराबरको स्वास्थ्य उपचार गर्न पाउछन् । ५ सदस्यीय भन्दा धेरै सदस्य रहेको घर परिवारले प्रतिव्यक्ति थप ७ सय रुपैयाँका दरमा बिमा गर्ने र एक लाख रुपैयाँसँगै थप प्रतिव्यक्ति २० हजार रुपैयाँका दरमा स्वास्थ्य उपचार पाउने गरेको स्वास्थ्य बिमा दर्ता अधिकृत सपना पुन विष्टले जानकारी दिनुभयो ।