रुकुम (पूर्व) मा सिस्ने गाउँपालिकाको प्रशासनिक भवन निर्माणको काम धमाधम चलिरहेको छ । वडा नम्बर ५ स्थित कमल दह भन्दा माथीपट्टी गाउँपालिकाको प्रशासनिक भवन निर्माणको काम चलिरहेको छ । अहिलेसम्म गाउँपालिका भवनको ६५ प्रतिशत काम सम्पन्न भएको गाउँपालिकाका इन्जिनीयर कर्ण केसीले जानकारी दिनुभयो ।

सिस्ने गाउँपालिकाको प्रशासनिक भवन लीफ्टसहितको ४ करोड १७ लाखमा (भ्याट बाहेक) निर्माण भइरहेको छ । कामको जिम्मा दिवा यती नायग्रा जेभी ललितपुरले लिएको छ । जेभीले २०७९ फागुन १० मा काम सक्नेगरी २०७७ फागुन ११ मा सम्झौता गरेको थियो । अहिलेसम्म ३ करोड ५६ लाख खर्च भइसकेको गाउँपालिकाका इन्जिनीयर केसीले बताउनुभयो । उहाँकाअनुसार गएको आर्थिक वर्षमा एक करोड ५० लाखको काम भएको थियो भने अहिले २ करोड १६ लाख गरी अहिलेसम्म ३ करोड ५६ लाखको काम भएको छ ।

सिस्नेले सुरुको अर्थात गएको आर्थिक वर्षमा गाउँपालिकाको वार्षिक विकास कार्यक्रम अन्तर्गत २ करोड बजेट बिनियोजन गरेर काम सुरु गरेको थियो । चालु आर्थिक वर्षमा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय पूर्वाधार विभागबाट आएको दुई करोड र गाउँपालिका आफैको २६ लाखमा काम भइरहेको छ । भवन लिफ्टसहितको सुविधा सम्पन्न बन्दै छ । इन्जिनीयर केसीका अनुसार गाउँपालिकाको प्रशासनिक भवन तीन तलाको हुने छ । यसमा हलसहित ४० भन्दा बढी कोठा हुनेछन् ।

अहिले भवनको माथिल्लो तलाको ढलानको काम भइरहेको छ । भूइ तला र पहिलो तलाको पलस्टरको काम पनि सम्पन्न भएको इन्जिनीयर केसीले बताउनुभयो । अहिले पनि भवन निर्माणको काम तिव्र गतिमा चलिरहेको छ । भवन निर्माण गरिसक्ने सम्झौता फागुन १० गतेसम्म भएपनि आउदो बैशाखको महिना भित्र काम सकेर हस्तान्त्रण गरिसक्ने योजनाअनुसार काम भइरहेको जेभीले जनाएको छ ।