रुकुम (पूर्व) मा मध्यपहाडी लोकमार्गमा जमेको हिउँ पन्छाउन सुरु गरिएको छ । भारी हिमपातको कारण गएको माघ तेस्रो साताबाट अबरुद्ध भएको सडकमा जमेको हिउँ पन्छाउन सुरु गरिएको हो । सडक अबरुद्ध भएको दुई सातापछि हिउँ पन्छाउन सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) का प्रहरी नायव उपरिक्षक डिएसपी गनेशबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

भूमे गाउँपालिका वडा नम्बर १ को लकुमभन्दा माथीपट्टीको भाग रिचिमदेखि बाटो सफा गर्न सुरु गरिएको छ । रिचिमदेखि रुकुम (पूर्व) र बागलुङको सिमाना पातीहाल्नासम्मको अन्दाजी ६÷७ किलोमिटरमा हिउँ पन्छाइने इलाका प्रहरी कार्यालय काँक्रिका इन्चार्ज प्रहरी सहायक निरीक्षक चित्रबहादुर बुढाक्षेत्रीले बताउनुभयो । सडकमा हिउँ बाक्लो जमेको कारण पन्छाउन एक साता जती लाग्ने अनुमान गरिएको इन्चार्ज बुढाक्षेत्रीले बताउनुभयो ।

उहाँकाअनुसार भूमे गाउँपालिकाको इन्धन सहयोगमा मध्यपहाडी लोकमागको काम गरिरहेको सिद्धिशाही कन्स्ट्रक्सन प्रालीले बाटोमा जमेको हिउँ पन्छाइरहेको छ । बागलुङ खण्डमा जमेको हिउँ भने बागलुङ जिल्लाले हटाइसकेको छ । दुई सातासम्म मध्यपहाडीको लुकुम–पातीहाल्ना खण्ड अबरुद्ध हुँदा यात्रुहरु समस्यामा परेका छन् ।