रुकुम (पूर्व) मा विद्यालयको वार्षिक उत्सवको अवसरमा अक्षय कोष स्थापना गरिएको छ । सिस्ने गाउँपालिका वडा नम्बर ६ मा रहेको त्रिभुवन जनता माध्यामीक विद्यालय छिप्रिदहको ७४ औँ वार्षिक उत्सव कार्यक्रमको अवसर पारी विद्यालयमा अक्षय कोष स्थापना गरिएको हो ।
सोही विद्यालयकी निवृत्त शिक्षिका दिलकुमारी मल्लले विद्यालयको नाममा एक लाख एक हजार रुपैयाँको अक्षय कोष स्थापना गर्नुभएको हो । जेहेनदार एवम् विपन्न परिवारका विद्यार्थीलाई अक्षय कोषको ब्याजबाट छात्रवृत्ति प्रदान गर्ने भन्दै अक्षय कोष स्थापना गरेको मल्लले बताउनुभयो ।
बुधबार सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बराल र गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख मंगलसिंह बुढाले संयुक्त रुपमा विद्यालयको ७४ औँ वार्षिक उत्सव कार्यक्रमको उद्घाटन गर्नुभयो । वार्षिक उत्सवको अवसर पारी विद्यालयले विविध खेलकुद प्रतियोगिताको आयोजना गरेको छ ।