रुकुम (पूर्व) मा विगत तीन सातादेखी अबरुद्ध मध्यपहाडी लोकमार्ग सुचारु भएको छ । लोकमार्गको लुकुम–पातीहाल्ना खण्डमा जमेको हिउँ पन्छाएपछि सडक पुनः सुचारु भएको हो । पटकपटक हिउँ पर्दा पन्छाउँदै यातायात सञ्चालन गर्दै आएपनि पछिल्लो समयमा भने लामो समय सडक अरुद्ध हुन पुगेको हो ।

एक साता लगाएर हिउँ पन्छाएपछि अहिले सडक सुचारु भएको भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले जानकारी दिनुभयो । गाउँपालिकाको इन्धन सहयोगमा उक्त खण्डमा काम गरिरहेको सिद्धि शाही निर्माण कम्पनीले सडकमा जमेको हिउँ पन्छाएको अध्यक्ष बुढाले बताउनुभयो । उहाँकाअनुसार वडा नम्बर १ को लामाक्याङदेखि रुकुम (पूर्व) र बागलुङमो सिमाना पातीहाल्ना सम्मको अन्दाजी ८÷९ किलोमिटरमा जमेको हिउँ पन्छाइएको हो ।

यस खण्डमा ढाई फीटदेखि लिएर पाँच फीटसम्म हिउँ जमेको थियो । मध्यपहाडीको महत्वपूर्ण खण्डमा हिउँ जम्दा यात्रुहरु समस्यामा परेका थिए । सोही समस्यालाई मध्यनजर गर्दै गाउँपालिका, निर्माण कम्पनी, प्रहरी, प्रशासनको समन्वयमा सडक सुचारु गरिएको हो । हरेक वर्षको यही समयमा हिउँले मध्यपहाडी लोकमार्गको लकुम–पातीहाल्ना खण्ड अबरुद्ध हुँदा यात्रुहरुले समस्या झेल्दै आइरहेका छन् ।

सडकमा जमेको हिउँ पन्छाएसँगै शनिबारबाट नियमित रुपमा रुकुम (पूर्व) र रोल्पा थबाङबाट पोखरा–काठमाडौं गाडी चल्न थालेको यातायात व्यवसायीले बताएका छन् ।