
रुकुम(पूर्व) मा सूचनाको हक सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय सुचना आयोगले आज रुकुमकोटमा जिल्लास्थित कार्यालय प्रमुख, सूचना अधिकारी, सञ्चारकर्मी र सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम गरेको हो । ‘हाम्रो अधिकार ः सुशासन र विकासको आधार’ भन्ने नाराका साथ एक दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।
सूचनाको हक सम्बन्धिका कुराहरु सम्बन्धित सरोकारवालाहरुलाई जानकारी गराउने उदेश्यले रुकुम (पूर्व) मा कार्यक्रमको आयोजना गरिएको आयोगले बताएको छ । आयोगको पूर्व निर्धारीत कार्यक्रम १० गते रुकुम (पश्चिम) मा भएको र यहाँ आएको बेलामा नेपाल पत्रकार महासंघ रुकुम(पश्चिम) को पहलमा रुकुम(पूर्व) मा कार्यक्रमको आयोजना गरेको सूचना आयोगले जनाएको छ । कार्यक्रममा सूचना आयोगका उपसचिव विश्वबन्धु पौडेलले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उदेश्य बारेमा प्रकाश पार्नुभएको थियो ।
यस्तै कार्यक्रममा राष्ट्रिय सूचना आयोगका सचिव भागिरथ पाण्डेले सूचनाको हक सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । पाण्डेले सूचनाको हक के हो, यसका सिद्धान्तहरु, सार्वजनिक निकाय, सूचनाको हकका संवैधानिक र कानुनी पक्ष, सूचना प्रवाह गर्ने विषयहरु, सार्वजनिक कार्यालयहरुको दायित्व, सूचना अधिकारीहरुको काम कर्तव्यलगायतका विषयमा जानकारी गराउनुभएको थियो ।
यस्तै उहाँले सुचना नदिए उजुरी, पुनरावेदन, सजाय, क्षतीपूर्ती, सुचनाको हक कार्यान्वयनमा राष्ट्रिय सुचना आयोग, सुचना दाताको संरक्षण, प्रमुख जिल्ला अधिकारीको भूमिका र कार्यान्वयनको अवस्थाको बारेमा पनि जानकारी गराउनुभएको थियो । अन्तरक्रिया कार्यक्रमको क्रममा उठेका प्रश्नहरुमा सुचना आयोगका आयुक्त रत्नप्रसाद मैनाली र सचिव पाण्डेले जवाफ दिनुभएको थियो ।
आयोगका आयुक्त मैनालीको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिती प्रमुख गजेन्द्र बहादुर ओलीको प्रमुख आतीथ्यता रहेको थियो । कार्यक्रममा सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बराल, पुथाउत्तरगंगा गाउँपालिका अध्यक्ष ओमप्रकाश घर्तीमगर, सिस्ने गाउँपालिका उपाध्यक्ष गोबरधन बुढा, प्रमुख जिल्ला अधिकारी कृष्ण खड्का, नेपाल पत्रकार महासंघ रुकुम(पश्चिम) का अध्यक्ष लक्ष्मण केसी लगाएतको आतीथ्यता रहेको थियो । कार्यक्रममा जिल्लास्थित कार्यालय प्रमुख, कार्यालयका सूचना अधिकारी, संचारकर्मी र सरोकारवालाको उपस्थिति रहेको थियो ।