रुकुम(पूर्व) को सिस्ने गाउँपालिकामा ७४ औ कार्यपालिका बैठक सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष कुमारी बरालको अध्यक्षतामा आइतबार सम्पन्न कार्यपालिका बैठकले कार्यविधिसँगै विभिन्न निर्णयहरु पारित गरेको छ ।

कार्यपालिकाले संघिय समपुरक अनुदान तर्फको छिप्रिदह–सेराखेत ढल निकासको ठेक्का सम्झौतापछि बचत हुने र प्रदेश समपुरक अनुदानतर्फको ठाटी डाँडाँ द्धोन्द स्थल निर्माणबाट हुने बचत रकमलाई अन्य विभिन्न शिर्षकमा खर्च गर्ने निर्णय गरेको छ । ढल निकास योजनाबाट बचत १३ लाख र पाँच लाखलाई अन्य ठाउँमा खर्च गर्न लागिएको गाउँपालिकाका प्रवक्ता एवम् २ नम्बर वडाध्यक्ष जिवन केसीले जानकारी दिनुभयो ।

उहाँकाअनुसार सिस्ने ५ स्थित द्धोन्दस्थलमा फोहोर वयवस्थापनको लागि खाडल खन्न ३८ हजार, सिस्ने ५ कै थाक्ना मोटर बाटो निर्माणमा ६ लाख ८० हजार रुपैयाँ खर्च गरिने भएको छ । यस्तै सिस्ने ८ को लम्पाकोट विद्यालयदेखि किटनी जोड्ने सडकमा ३ लाख ५० हजार, सिस्ने ५ को आधारभूत स्वास्थ्य केन्द्र रुमालबारालाई जोड्ने सडक निर्माणमा ३ लाख ५० हजार र सिस्ने राउण्ड पर्यटकिय नक्साङ्कनको लागि ५ लाख बजेट खर्च गर्ने गरी कार्यपालिकाबाट निर्णय भएको प्रवक्ता केसीले बताउनुभयो ।

यस्तै सानीभेरी नदिको विभिन्न क्षेत्र तोकी जेठ मसान्तसम्मको लागि भारी उपकरणमार्फत ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन्, संकलन गर्न दिने निर्णय गरिएको छ । गाउँपालिकाले तोकेको क्षेत्रभन्दा बाहिर भने यो कार्य गर्न पाइने छैन् । अनुमती बमोजिम उत्खनन् तथा संकलन भए नभएको अनुगमण गर्ने पनि कार्यपालिकाले निर्णय गरेको प्रवक्ता केसीले बताउनुभयो । उहाँकाअनुसार आगामी बैशाख ३० मा हुने निर्वाचन प्रयोजनको लागि मतदाता नामावली, अद्यावधिक दावी, विरोधको लागि यहि फागुन १९ गते मतदाता नामावली सुचना टास र अद्यावधिक गरी निर्वाचन कार्यालयमा पठाउने निर्णय भएको छ ।

सिस्ने गाउँपालिका क्षेत्र भित्र कूनै पनि भवन निर्माण गर्दा भवनको नक्सा पास अनिवार्य गर्नुपर्ने, फागुन १९ गते ५६ घर सहिद परिवारलाई सम्मान गर्ने, सिस्ने २ प्वाङमा निर्माण हुने गाउँपालिकास्तरीय स्वास्थ्य भवन निर्माणको लागि ठेक्का भई सम्झौता भइसक्दा पनि बजेट निकासा नभएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बजेट व्यवस्थापनको लागि अनुरोध गर्ने निर्णय भएको कार्यपालिकाले जनाएको छ । यस्तै विभिन्न विद्यालयमा आइसीटी ल्याबसहितको पुस्तकालय निर्माणदेखि लिएर विज्ञान प्रयोगशाला, कार्यसम्पादनमा अनुदान दिने निर्णय गरिएको छ ।

कार्यपालिकाले खानेपानी गुणस्तर अनुगमण कार्य विधि २०७८ र सुरक्षित खानेपानी युक्त समुदाय कार्यविधि २०७८ पारित गरेको प्रवक्ता केसीले जानकारी दिनुभएको छ ।