रुकुम(पूर्व) मा नेकपा एमालेको आठौ जिल्ला अधिवेशन उद्धघाटन भएको छ । आज रुकुमकोट छिप्रीदहमा अधिवेशनको नेकपा एमालेका केन्द्रिय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले ब्यानर पढेर उद्धघाटन गर्नुभएको हो । केहि हिमाली जिल्लामा बाकी राखेर अन्य सबै जिल्लामा गएको पुष २३ गते जिल्ला अधिवेशन गरेको नेकपा एमालेले हिमाली जिल्ला रुकुम(पूर्व) मा फागुन २७ र २८ गते अधिवेशनको मिति तय गरेको थियो ।

यसैअनुसार आज अधिवेशनको उद्धघाटन सत्र सकिएको नेकपा एमाले जिल्ला सचिव लिलामणी गौतमले जानकारी दिनुभयो । छिप्रीदह महिला भवनमा बन्द सत्र सुरु भएको छ । सचिव गौतमकाअनुसार बन्द सत्रले नेकपा एमालेको नयाँ जिल्ला कार्यसमिति चयन गर्दै भोली अधिवेशन सकिने छ । बन्दसत्रले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव गरी पाँच जनाको पदाधिकारी सहित ६५ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गर्ने छ ।

अधिवेशनमा तीन वटै गाउँपालिका, विभिन्न जनवर्गिय संगठनबाट छनोट भई आएका र जिल्ला आयोजक कमिटीसहित ३ सय ७७ जना प्रतिनीधि सहभागी रहेका छन् । एमालेले सिस्ने गाउँपालिका वडा नम्बर ६ छिप्रीदहबाट सुरु गरेको र्याली बाहुनठाना, चोकबजार हुदैँ पुन छिप्रीदहमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।

नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष टोपबहादुर ओलीको अध्यक्षतामा भएको अधिवेशन उद्धघाटन सत्रमा नेकपा एमाले केन्द्रिय कमिटी सचिव एवम् लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माको प्रमुख आतीथ्यता रहेको थियो । कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य एवम् लुम्बिनी प्रदेश संगठन कमिटी सहइन्चार्ज दधिराम न्यौपाने, खेममान खड्का, नेकपा एमाले लुम्बिनी प्रदेश संगठन कमिटी अध्यक्ष राधाकृष्ण कण्डेललगाएतको आतीथ्यता रहेको थियो ।

कार्यक्रमको सञ्चालन नेकपा एमाले जिल्ला कमिटीका सचिव लिलामणी गौत्मले गर्नुभएको थियो ।