जिल्लास्थित रुकुम(पूर्व) अस्पतालमा सञ्चालन गरिएको एक दिने निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सकिएको छ । शिविरमा जिल्लाका १ सय ६८ जनाले सेवा लिएका छन् । स्वास्थ्य कार्यालय (पूर्व) को समन्वय तथा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा मंगलबार सञ्चालन गरिएको शिविरमा जिल्लाको तीन वटै पालिकाका बिरामीहरुले सेवा लिएका छन् ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका रामप्रसाद भट्टराइका अनुसार एक सय ४१ महिला र २७ जना पुरुषले शिविरबाट सेवा लिएका छन् । जसमा नाक, कान, घाटीको ६३ जना, बाल रोगको १९ जना, स्त्रि रोगको ६९ जनाले सेवा लिएका छन् । यस्तै ७१ जनाले भिडियो एक्सरे सेवा लिएका छन् भने अन्य १७ जनाले पनि शिविरबाट सेवा लिएको भट्टराइले बताउनुभयो । शिविरमा खासै जटिल प्रकारका विरामीहरु नभेटिएको डाक्टरहरुले बताएका छन् ।

शिविरमा नाक, कान, घाटी, बाल रोग र स्त्री रोग सम्बन्धि सेवा प्रदान गरिएको छ । शिविरमा लुम्बिनी प्रादेशिक अस्पतालका विशेषज्ञ डाक्टरहरु स्त्रि तथा महिला रोग विशेषज्ञ डाक्टर नविन तिरुवा, नाक कान घाटी रोग विशेषज्ञ डाक्टर सरोज चाँपागाइ, रेडियोलोजिस्ट डाक्टर सगुन मानन्धर र बाल रोग विशेषज्ञ डाक्टर सन्दिप शाक्यले सेवा दिनुभएको छ ।

शिविरको आजै बिहान लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले कलशमा बत्ति बालेर उद्धघाटन गर्नुभएको हो । साथै सभामुख घर्तीसँगै लुम्बिनी प्रदेशसभाका सदस्य तेजबहादुर ओली, जिल्ला समन्वय समिति उपप्रमुख भिमकुमारी पुन, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्का र डिएसपी गनेशबहादुर श्रेष्ठको प्रेसर जाँच गरेर शिविरको सुरुवात गरिएको थियो ।