रुकुम(पूर्व) को प्रमुख पर्यटकिय स्थल कमल दहबाट पटार हटाइएको छ । सिस्ने गाउँपालिका वडा नम्बर ५ मा रहेको दहमा उम्रिएको पटार हटाइएको हो । सकारात्मक सोच र सहकार्यको लागि युवा समुह रुकुमकोटाले दहमा रहेको पटार निकालेको हो ।

समुहले नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा दहबाट पटार निकालेको कमलदह सरसफाईका अभियान्ता केशवचन्द समालले जानकारी दिनुभयो । नेपाल प्रहरीबाट १५ जना, सशस्त्र प्रहरीबाट ११ जनाको सहयोगमा युवा समुह रुकुमकोटले दह सरसफाई गरेको समालले बताउनुभयो । उहाँकाअनुसार दहमा परापूर्वकालदेखि नै छेउछाउमा बोजो जस्तो देखिने पटार थियो । पछिल्लो समय त्यहि पटार दहको सबै क्षेत्रतीर फैलिदै जादा दहको रुप नै कुरुप बन्दै गएको थियो ।

दहमा पटार फैलिदै जान थालेपछि नागरिकहरु दह सुक्छ की भन्ने पिरमा थिए । दहमा रहेको पटार हटाएपछि स्थानीयहरु पनि खुसी भएका छन् । पछिल्ला केही वर्षयता दहमा पानीको सतह पनि घट््दै जान थालेको छ । यतिबेला भने दहमा कमल पलाउदै गरेकाले यसको सुन्दरता थपिदै गएको छ । दह हेर्नकै लागि विभिन्न जिल्लाहरुबाट आन्तरिक पर्यटकहरु पनि आउने गर्दछन् ।

दहलाई पर्यटकिय स्थलको रुपमा विकास गर्नको लागि संघ र स्थानीय सरकारले दह वरिपरी विभिन्न संरचनाहरु पनि निर्माण गरेका छन् । पछिल्लो समयमा बाहुनठानाका युवाहरुले समालको नेतृत्वमा सकारात्मक सोच र सहकार्यको लागि युवा समुह रुकुमकोट नाम दिएर प्रत्येक साताको शनिबार कमलदह सरसफाई गर्दै आएका छन् । बिचमा भने केहि शनिबार विविध कारण यो अभियानलाई निरन्तरता दिन नसकेको बताउदै अभियान्ता समालले फेरी पनि शनिबारे दह सरसफाईको अभियान सुरु गरेको बताउनुभएको छ ।