हिकमत प्रोतेल/रुकुम(पूर्व)


रुकुम(पूर्व) को पुथा उत्तरगंगा गाउँपालिकामा नेकपा माओवादी केन्द्रले चुनावी अभियानलाई तिव्र पारेको छ । वैशाख ३० गते हुने स्थानीय तह चुनाव लक्षित चुनावी अभियान गाउँपालिकाको विभिन्न ठाउँमा सञ्चालन भइरहेका छन् । अभियानको आज आठौं दिन पुथा उत्तरगंगा गाउँपालिका ३ रन्मामा चुनावी अभियान कार्यक्रम सम्पन्न भएको छ ।

चुनावी अभियानमा पुथा उत्तरगंगा गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेद्वार पुनिराज घर्ती, उपाध्यक्षका उम्मेद्वार भुपेन्द्रा बुढा, नेकपा माओवादी केन्द्र पुथा उत्तरगंगा गाउँपालिका कोषाध्यक्ष मनिप्रसाद बुढा लगायत नेकपा माओवादी केन्द्र निकट भातृ संगठनका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

पालिका अध्यक्षका उम्मेद्वार घर्तीले नागरिकलाई आत्मनिर्भर बनाउने प्रतिबद्धता जनाउनु भयो । उहाँले नागरिकलाई आत्मनिर्भर बनाउन बस्ति सुहाउँदो योजना बनाई त्यस्ता कार्यक्रम अगाडि बढाउने बताउनुभएको छ । आत्मनिर्भर बनाउने योजनाको साथ साथमा भौतिक विकास, सामाजिक विकास, शिक्षा, स्वास्थ्यमा विकास, सचेतानामुलक कार्यक्रमहरु लगायतका क्षेत्रमा काम गर्ने प्रतिबद्धता घर्तीले जनाउनुभएको छ ।

उपाध्यक्षमा सिफारिस भुपेन्द्रा बुढाले नेपालमा महिलाको हक अधिकारको लागि संघर्ष गर्ने पार्टी नेकपा माओवादी केन्द्रको विकल्पमा अरु कोहि नभएको बताउनुभयो । उहाँले आम नागरिकलाई आफ्नो अमुल्य भोट दिएर माओवादी पार्टीलाई भारी मतले विजयी बनाउन आग्रह गर्नुभएको छ । पुथा उत्तरगंगा गाउँपालिका ३ रन्मामा भएको चुनाव प्रचारप्रसार अभियानको क्रममा युथ फोर्सका जिल्ला सदस्य जगतमान बुढा सहित ७ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन ।

प्रवेशी समुहलाई पुथा उत्तरगंगामा नेकपा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेद्वार पुनिराज घर्तिले दोसल्ला ओढाई पार्टीमा स्वागत गर्नुभएको छ । नेकपा माओवादी केन्द्रले पुथाउत्तरगंगा गाउँपालिका ३ मा बिजय बुढालाई वडा अध्यक्षमा अघि सारेको छ । यस्तै महिला सदस्यमा ज्योेतीलाख बुढा, दलित महिला सदस्यमा सुशीला विक उम्मेद्वार हुनुहुन्छ । यस्तै खुल्ला सदस्यमा वलकम बुढा र भदौरे कामी उम्मेद्वार हुनुहुन्छ ।

नेकपा माओवादी केन्द्र पुथा उत्तरगंगा गाउँपालिका ३ का इन्चार्ज भिम बहादुर कामीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा वडा पार्टी अध्यक्ष असलजित विकको सभाध्यक्ष रहेको थियो । कार्यक्रमको सञ्चालन प्रेस सेन्टर नेपाल पुथा उत्तरगंगा गाउँपालिका समिति सदस्य सदस्य जोरन विकले गर्नुभएको थियो ।