रुकुम(पूर्व) को सिस्ने गाउँपालिका वडा नम्बर २ मा पाँच वर्षे कार्यकालमा विकास निर्माणको आधार तयार पारिएको छ । यस वडामा स्थानीय सरकार स्थापनाको पहिलो कार्यकालमा करिब साढे ४९ करोड लगानिमा विकास निर्माणको आधार तयार पारिएको छ । २ नम्बर वडामा पाँच वर्षको अवधिमा ४९ करोड २९ लाख ३५ हजार बजेटमा विभिन्न विकास निर्माणको कामहरु गरिएको निवर्तमान वडाध्यक्ष जिवन केसीले जानकारी दिनुभयो ।
उहाँले आफ्नो कार्यकालमा गरेका कामहरु सोमबार नव निर्वाचित जनप्रतिनिधिको पदभार ग्रहणको क्रममा आयोजना गरिएको एक कार्यक्रममा जानकारी गराउनुभएको छ । उहाँकाअनुसार वडामा स्वास्थ्यतर्फ स्वास्थ्यचौकी निर्माण तथा छिपखोलामा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको छ । पालिकास्तरीय अस्पताल प्रक्रिया सम्पन्न भई निर्माण कार्य सञ्चालनको अवस्थामा छ भने घुम्ति स्वास्थ्य सेवा सञ्चालन गरिएको छ । साथै कोभिड १९ रोकथामको लागि विशेष पहल गरिएको निवर्तमान वडाध्यक्ष केसीले बताउनुभयो ।
संचारको क्षेत्रमा सुद्रिमा नेपाल टेलिकमको टावर निर्माण भई सञ्चालनमा आएको छ भने फोर जी सेवा विस्तार भएको छ । वडा कार्यालयसँगै हिमालय मावि नायगाड र स्वास्थ्यचौकीमा इन्टरनेट सेवा सञ्चालन गरिएको केसीले जानकारी गराउनुभयो । उहाँकाअनुसार शिक्षातर्फ ८ कोठे छात्राबास भवन, नायगाडमा दुई कोठे पक्कि विद्यालय भवन, जस्तावाल २ कोठे विद्यालय भवन, किंदामा ३ कोठे विद्यालय भवन, खरिबोट र दत्कुनामा ट्रष्ट भवन निर्माण गरिएको छ । खरिबोट र लैपामा विद्यालय शौचालय निर्माण गरिएको छ भने नायगाडमा निर्मानाधिन अवस्थामा छ । नायगाडमा विज्ञान प्रयोगशाला, पुस्तकालय स्थापना, विद्यालय सुचना प्रविधि विकासको कार्य सम्पन्न हुन बाकी छ । खरिबोट र सुद्रिमा दुई दुई वटा विद्यालय भवन मर्मत पनि गरिएको छ । विद्यालयलाई कम्यूटर वितरण, बाल शिक्षा सम्बन्धि पोषण कार्यक्रम, बालमैत्रि कक्षा व्यवस्थापन सम्बन्धि सामाग्री सहयोग, हिमालय मावि नायगाडमा १ देखि कक्षा ५ सम्म अग्रेजी माध्याममा पढाई सञ्चालन गरिएको छ भने लैपामा बाल शिक्षा स्थापना गएिको छ । साथै विद्यालयमा खेलमैदान, रगंरोगन, घेराबार, गेट, फर्निचर मर्मतलगाएतको काम गरिएको छ ।
उर्जा क्षेत्रमा ४० किलोवाटको छिपखोला लघुजलविद्युत आयोजनाको निर्माण गरिएको छ भने ३३ किलोवाटको तुबाङखोला र पुरानो छिपखोला लघु जलविद्युत आयोजनाको मर्मत गरिएको छ । पर्यटनतर्फ नेटा सहिद स्मृती पार्क, सुद्रिमा मुक्ति प्रहार स्मृती बाटिका निर्मानाधिन अवस्थामा छन् । छिपखोलामा सहिद स्मृती पार्क संरक्षण गरिएको छ भने नायगाडमा पाहुना घर, प्वाङ, नायगाड, दत्कुनामा मन्दिर निर्माण, कला संस्कृती र पञ्चे बाजा संरक्षण र नायगाड–लैपा–ख्याप–फुर्का–कालढार–राम्री पर्यटन पदमार्ग निर्माण गरिएको केसीले बताउनुभयो ।
यस्तै वडामा ६ वटा झोलुङ्गे पुल निर्माण भएका छन् भने ३ वटा निर्मानाधिन अवस्थामा छन् । २ वटा ट्रस पुल, एउटा आरसीसी पुल निर्माण गरिएको छ भने दुई पुल मर्मत गर्दा एउटा पुल ठेक्का प्रक्रियामा गएको छ । सिंचाई विकासतर्फ छिपखोला सिचाई योजना, इटिघारी प्लाष्टिक पोखरी निर्माण, तिप्तरा सिंचाइ योजनालाई पूर्णता दिइएको छ भने गोलखारा सिंचाई योजना निर्मानाधिन अवस्थामा छ । खानेपानीतर्फ खानेपानी मर्मत, निर्माण तथा ३ वटा मुहान संरक्षण गरिएको छ भने प्वाङ÷किंदा खानेपानी आयोजना निर्मानाधिन अवस्थामा छ ।
सामुदायिक पूर्वाधार विकासतर्फ ६ वटा सामुदायिक भवन, ८ वटा सार्वजनिक शौचालय, २ वटा प्रशिक्षलय र २ वटा सुधारिएको आरण निर्माण गरिएको छ भने विद्युतीय घट्ट एउटाको निर्माण सम्पन्न भएको छ भने एउटा निर्मानाधिन अवस्थामा रहेको छ । युवा तथा खेलकुद विकासतर्फ छिपखोला नायगाडमा खेल मैदान घेराबार, सुद्रिमा खेलमैदान निर्माण हुदा नायगाडको खेलमैदान निर्मानाधिन अवस्थामा छ ।
घोडेटो बाटो निर्माण मर्मत तथा सिढि निर्माणतर्फ ३० किलोमिटरमा घोडेटो बाटो निर्माण गरिएको छ भने ३ वटा घोडेटो बाटो मर्मत हुँदा ८ सय मिटरमा सिढि निर्माण गरिएको छ । वडाबाट पाच वर्षे कार्यकालमा महिला, दलित सिप तथा क्षमता विकास कार्यक्रम, ज्येष्ठ नागरिक सहायता सम्मान, अपाङ्गता सम्मान तथा सहायता, मोराबाङ तटबन्ध निर्माण, समुदाय तथा कार्यलयको लागि स्ट्रेचर वितरण, विपद व्यवस्थापन सहयोग, सञ्चार सामाग्री ढुवानी, सुरक्षित नागरिक आवास कार्यक्रम, अति विपन्न घर परिवार राहत कार्यक्रम पनि सञ्चालन गरिएको छ ।
यी सबै कार्यक्रम तीनै तहको सरकारको सहयोगमा सञ्चालन गरेको निवर्तमान वडाध्यक्ष केसीले बताउनुभएको छ ।