लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्यान मन्त्रि इन्द्रजित थारुले रुकुम(पूर्व) मा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको उद्धघाटन गर्नुभएको छ । उहाँले पानसमा बत्ति बाल्दै ब्यानर खोलेर र रिबन काटेर जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको उद्धघाटन गर्नुभएको हो ।
जिल्लामा आयुर्वेद स्वास्थ्य केन्द्रले सेवा सुचारु गरेको एक वर्षपछि औपचारिक रुपमा केन्द्रको उद्धघाटन गरिएको हो । आयुर्वेद केन्द्रले रुकुम(पूर्व) मा गएको वर्ष जेठ २६ गतेबाट सेवा सुरु गरेको थियो । अहिलेको जेठ २६ मा केन्द्रले सेवा सुरु गरेको ठिक एक वर्ष पुग्दै छ । जिल्लामा सेवा सुरु गर्नेबेला कोभिड महामारी चलिरहेको कारण त्यतिबेला उद्धघाटन कार्यक्रम गर्न नसकिएको कारण अहिले जिल्लामा मन्त्रिलाई नै ल्याएर आयुर्वेदिक स्वास्थ्य केन्द्रको उद्धघाटन गरिएको हो ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट अहिले ओपिडि सेवा र निशुल्क औषधी वितरण भइरहेको छ । थेरापी सेवा भने अझै सञ्चालनमा आएको छैन् । जिल्लामा आयुर्वेद स्वास्थ्य केन्द्र स्थापना भएदेखि नै नागरिकहरु आयुर्वेद उपचार पद्धतीमा आकर्षित भएका छन् । स्वास्थ्य जनसंख्या तथा परिवार कल्यान मन्त्रालय आयुर्वेद महाशाखा प्रमुख पुष्पराज पौडेलको अध्यक्षतामा भएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र उद्धघाटन कार्यक्रममा प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्यान मन्त्रि इन्द्रजित थारुको प्रमुख आतीथ्यता रहेको थियो ।
कार्यक्रममा सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मि, भूमे गाउँपालिका अध्यक्ष होमपप्रकाश श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काको विशेष आतीथ्यता रहेको थियो । जिल्लास्थित सुरक्षा निकायका प्रमुख, सिस्ने गाउँपालिकाका निवर्तमान अध्यक्ष उपाध्यक्ष, सरकारी कार्यालयका प्रमुख प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका डाक्टर गनेश अधिकारीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन स्वास्थ्य केन्द्रका प्रमुख विष्णुहरी आचार्यले गर्नुभएको थियो ।