लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्यान मन्त्रि इन्द्रजित थारुले रुकुम(पूर्व) आयुर्वेद औषधी उत्पादन केन्द्रको सम्भावना बोकेको जिल्ला भएको बताउनुभएको छ । आज उहाँले रुकुम(पूर्व) मा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको उद्धघाटन गर्ने क्रममा यस्तो बताउनुभएको हो । रुकुम(पूर्व) लुम्बिनी प्रदेशको एक मात्र हिमाली र जडिबुटीको धनी जिल्ला भएकाले यस ठाउँमा आयुर्वेद औषधी उत्पादन केन्द्र निर्माण गर्न सकिने मन्त्रि थारुले बताउनुभयो ।

यहाँका सबै दल, जनता, बुद्धिजिवीहरु एक भएर यहाँको जडिबुटीलाई यहि संकलन गर्ने, यहि प्रशोधन गर्ने र औषधी उत्पादन गरेर जानुपर्नेमा उहाँले जोड दिनुभयो । “रुकुम(पूर्व) मा अमुल्य जडिबुटी पाइन्छ, यो सबैलाई थाहा भएकै कुरा हो,” मन्त्रि थारुले भन्नुभयो, “यसलाई कार्यक्रम अर्थात बजेटको रुप दिने र यसलाई व्यवस्थित ढगंले सञ्चालन परिचालन गर्ने योजना बनाएर अघि बढ्नुपर्छ । जिल्लामा औषधी उत्पादन गर्ने गरी कार्यक्रम अघि बढाउने कुरामा प्रदेश पछि हट्दैन् ।”

आयुर्वेद सेवा पूर्खाले अपनाउदै आएको सबै भन्दा पुरानो उपचार पद्धती भएको मन्त्रि थारुले बताउनुभयो । पछिल्लो समयमा विज्ञान प्रविधि र खाद्यान्नमा रसायन प्रयोग बढ्नु, दैनिक जनजिवन अस्तव्यस्त हुँदा मानिस विभिन्न रोगको सिकार हुँदै गएको बताउदै उहाँले स्वस्थ्य आहारविहार र योगले मानिसलाई स्फुर्त बनाउने बताउनुभयो । आयुर्वेदिक चिकित्सा पद्धतिले मानिसलाई स्वस्थ बनाउने बताउदै उहाँले स्वस्थ नागरिकले मात्र देश विकास गर्न सक्ने भनाई राख्नुभयो । यस्तै रुकुम(पूर्व) मा यार्सागुम्बासँगै अन्य बहुमुल्य जडिबुटी पाइन्छन् । आयुर्वेदिक उपचारको लागि जिल्लामै औषधि निर्माणसँगै यसबाट जिल्लाबासीको आर्थिक समृद्धि पनि हुने उहाँले बताउनुभयो ।

यस्तै प्रदेश आयुर्वेद महाशाखा प्रमुख पुष्पराज पौडेलले सबैले आयुर्वेद स्वास्थ्य सेवातीर ध्यान दिनुपर्नेमा जोड दिनुभयो । साथै उहाँले जिल्लास्थित स्थानीय तहलाई यसमा सहयोग समन्वय गर्न आग्रह गर्नुभयो । सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मि र भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले जडिबुटीको प्रचुर सम्भावना बोकेको यस क्षेत्रमा स्थानीय सरकारबाटै जडिबुटी उत्पादनसम्बन्धिको कार्यक्रम बनाएर लैजाने बताउनुभयो । आयुर्वेद स्वास्थ्य सेवा सञ्चालनको लागि आवश्यक सहयोग समन्वय गर्न सधै तत्पर रहने प्रतिबद्धता पनि उहाँहरुले जनाउनुभएको छ ।