रुकुुम(पूर्व) कै पहिलो सञ्चार माध्यामको रुपमा स्थापना भएको रेडियो पूर्वी रुकुमले तेस्रो वर्ष पार गरि चौथो वर्षमा प्रवेश गरेको छ । २०७६ साल जेठ १५ गणतन्त्र दिवसकै दिन सञ्चालनमा आएको यस रेडियोले तेस्रो वर्ष पार गरि चौथो वर्षमा प्रवेश गरेको हो । वार्षिकउत्सवको अवसरमा एक विज्ञप्ती जारी गर्दै स्रोता, साझेदार संस्था, विज्ञापनदाता, संघसंस्था, रेडियोमा कार्यरत पत्रकार तथा कर्मचारी, शुभेच्छुक, शुभचिन्तकहरुलाई धन्यवाद व्यक्त गरिएको छ ।

सञ्चालक समिति सदस्य नमिता बुढाद्धारा हस्ताक्षरीत विज्ञप्तीमा भनिएको छ, “नेपालमा गणतन्त्र स्थापना गरेको दिनको अवसर पारि २०७६ जेष्ठ १५ गतेका दिनबाट प्रशारण यात्रा सुरु गरेको रेडियो पूर्वी रुकुमले गणतन्त्र नेपालको समावेशी आवाजको नारा लिएर लुम्बिनी प्रदेशको एकमाह हिमाली जिल्लामा सञ्चालनमा ल्याइएको हो । यहाँका तीन वटै स्थानीय तह सिस्ने, भूमे र पुथाउत्तरगंगा गाउँपालिका साथै प्रदेश र संघ सरकारसँग हातेमालो गर्दै यस रेडियोले सुचना तथा विचार प्रवाहमार्फत सुशासनयुक्त समाज निर्माणको लागि राम्रो कामको प्रचारप्रसार र गलत कामको खबरदारी गर्दै सामाजिक परिवर्तन, मौलिक कला, संस्कृतीको जगेर्ना, जनहितकारी सन्देश, सुचनाहरु सम्प्रेशण गरिरहेका छौ ।”

विज्ञप्तीमा भनिएको छ, “हामी सबैको साझा बोलीको रुपमा सबैको मनमनसम्म पुग्न हरकदम प्रयास गरिरहेका छौ । गाउँठाउँमा दबिएर रहेका आवाजहरुलाई प्रस्फोटन गर्दै संघिय राज्य प्रणालीको संरचना कार्यान्वयनमा सरकार र जनताबिच पुलको काम यस रेडियोले गरिरहेको छ ।

रेडियोलाई यहाँसम्म पुर्याउन सहयोग गर्ने पहिलो स्थानीय सरकारका जनप्रतिनिधिसँगै आम स्रोता, विज्ञापनदाता, साझेदार संस्था, संघसंस्था, रेडियोमा कार्यरत पत्रकार, कर्मचारी, शुभेच्छुक, शुभचिन्तक एवम् प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई रेडियोले धन्यवाद दिएको छ ।