रुकुम(पूर्व) को सिस्ने गाउँपालिका वडा नम्बर ५ चोकबजारमा राती ९ बजेभन्दा पछि मदिरा बिक्रि वितरण गर्न नपाइने भएको छ । आज जिल्ला प्रशासन कार्यालय रुकुम(पूर्व) मा निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले चोकबजारमा व्यवसायिहरुले राती ९ बजेभन्दा पछि मदिरा बिक्रि वितरण गर्न नपाइने निर्णय गरेको हो ।
मदिरा सेवन गरेका केहि व्यक्तिहरुले चोकबजार क्षेत्रमा सार्वजनिक शान्ति सुरक्षामा खलल पुग्ने गरी होहल्ला गरेको गुनासोको आधारमा जिल्ला प्रशासन कार्यालयले प्रहरी, जनप्रतिनिधि, स्थानीय व्यापारी, व्यवसायी, राजनितिक दलहरुको उपस्थितीमा छलफल गरि यस्तो निर्णय गरेको हो । पहिलो चरणमा मदिरा सेवन गरि होहल्ला गर्नेलाई समुदायस्तरबाटै सम्झाई बुझाई गर्ने र अटेर गर्नेलाई नियन्त्रणमा लिने निर्णय बैठकले गरेको छ ।
चोकबजारमा केहि व्यक्तिहरुले मदिरा सेवन गरि होहल्ला गरेको भन्ने गुनासो केहि दिन अघि मात्र प्रशासनमा पुगेको थियो । पहिलो चरणमा छलफलबाट यस्तो निर्णय गरेको बताउदै यसलाई पनि अटेर गरेर पूनः छलफल गरि आवश्यक निर्णय गर्ने निमित्त प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो । यस्तै दर्ता बिना सञ्चालनमा आएका मदिरा पसललाई छिटो भन्दा छिटो प्रक्रियामा आउन आग्रह गर्दै अन्यथा कानुनी प्रक्रियामा जाने पनि उहाँले बताउनुभएको छ । ५ नम्बर वडा कार्यालयलले पनि यसलाई चासोका साथ लिनुपर्ने उहाँले बताउनुभयो ।