
रुकुम(पूर्व) मा भूम्या पर्वको रौनक सुरु भएको छ । प्राकृतिक विपत्तिबाट बच्ने विश्वासका साथ प्रकृतिको पूजा गरी मनाइने यो पर्व मगर समुदायको बाहुल्यता रहेको यो समुदायको सबै भन्दा ठुलो पर्व हो । भूमे पर्व(बल पुजा) को उपलक्ष्यमा भुमे गाउँपालिकाले आज र भोली अर्थात जेठ ३१ र असार १ गते दुई दिन सार्वजनिक बिदा दिएको छ ।
आज बिहानै भूम्या पर्व मनाउने युवा युवती सबै फूल टिप्न लेक उक्लिएका थिए । अहिले भने उनिहरु फूल टिपेर लेकबाट ओर्लने क्रम जारी छ । पुजारी र दमाहाका साथ फूल लिन जाने चलनलाई ‘मुरुला’ लिन जाने भनिन्छ । भूमे पूजा अगावै मारिङ, फूलबारी लगाएतका लेकमा फूल टिप्न मानिसहरु गएको भूमे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रसिंह श्रेष्ठले जानकारी दिनुभयो । असार १ गते भूमे पूजा गरिन्छ भने पहिलो सातासम्म भूम्या नाँच र नचारु नाँच नाच्ने चलन रहेको छ । उक्त पर्वमा पूजासँगै २२ चालमा नाच नाच्ने गरिन्छ । स्थानीय भाषामा यस पर्वलाई ‘नोगोबाङ्गे’ पनि भनिन्छ ।
आफू बसेको ठाउँको भूमि र भूमि देवताको पूजा गरेर मातृभूमिप्रति श्रद्धा र आदर प्रकट गर्नको लागि यो पर्व मनाइने गरेको स्थानीय शिखर विश्वकर्माले बताउनुभयो । उहाँकाअनुसार यो पर्व मनाएपछि दैवी विपत्तिबाट जोगिने जनविश्वास छ । विगतमा मगरहरुले मात्रै मनाउने यो पर्व अहिले अन्य जातिले समेत मनाउन थालेको उहाँको भनाई छ ।
मगर राज्य चलेको समयमा वर्षभरिको नियम कानुन बनाउने तथा त्यसका लागि प्रतिनिधि चयन गर्ने दिनको रुपमा समेत यो पर्वलाई लिने गरिन्छ । सोही पर्वमा जनताको संख्याको लगत राख्ने जस्ता काम समेत गरिन्थ्यो । मगर बहुल क्षेत्रमा विशेष पर्वका रुपमा मनाइने यस पर्व रुकुम(पूर्व) को भूमे गाउँपालिकामा मनाइन्छ । पुथाउत्तरगंगा र सिस्ने गाउँपालिकाको विभिन्न क्षेत्रमा पनि यो पर्व मनाइने गरेको पाइन्छ । भूमे गाउँपालिकामा नाचिने भूम्या नाँच हेर्न जिल्लाको विभिन्न ठाउँसँगै छिमेकी जिल्लाहरुबाट पनि मानिसहरु आउने गरेका छन् ।