रुकुम(पूर्व) मा भेडी गोठालाहरु बथानसहित पाटन उक्लिएका छन् । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिकासँगै भूमे गाउँपालिकाको माथिल्लो क्षेत्र र सिस्ने गाउँपालिकाको १ र २ नम्बर वडाका भेडी गोठालाहरु भेडी बथानसहित पाटन उक्लिएका हुन् । फिरन्ते जीवनशैलीका भेडी गोठालाले धमाधम गोठ पाटनतील लगेपछि मानिस सँगसँगै बस्तुभाउको चहलपहल गाउँमा शुन्य हुन थालेको छ ।

बैशाखको महिनाबाटै गोठालाहरुले भेडी बथानलाई पाटन लैजान सुरु गर्छन् । जेठको अन्तिम सातासम्म लगभग सबै गोठालाहरु आफुले पालेका भेडा र बाख्रासहित गाईको बथानसहित पाटन उक्लिसक्ने पुथाउत्तरगंगा गाउँपालिका १ मैकोटका विकास पुनले बताउनुभयो । बेँसी अर्थात गाउँघरमा घाँसपात र चरन क्षेत्रको अभाव भएपछि हरेक वर्षमा पुथाउत्तरगङ्गा गाउँपलिकाका सबै किसान आफूले पालेका बस्तुभाउसहित वैशाख र जेठको महिनामा बुकी पाटनमा उक्लने गरेको उहाँले बताउनुभयो ।

तकसेराका भेडी गोठाला जोडे बुढाका अनुसार वैशाखदेखि असोजसम्मको करिब ६ महिने अवधि पाटनमा गएका गोठालाले गोठ र त्रिपालमुनि भेडाबाख्रासँगै बिताउने गर्छन् । सुरक्षाका लागि कुकुर साथमा राख्ने गरेका उनीहरुले खाद्यान्नसहित त्यहाँ जाने गर्छन् । उनीहरुले भेडालाई नै खाद्यान्न बोकाएर लगेका हुन्छन् । उनीहरु बुकीमा दुइदुई महिनाको अवधिमा ठाउँ फेर्दै हिँड्ने गरेको बुढाले बताउनुभयो । अहिले पाटन उकालीका भेडी बथान दसैँ, तिहार नजिकिएसँगै पाटनबाट बेसी झर्ने गरेको भडी गोठालाहरुले बताएका छन् ।

पुथाउत्तरगङ्गा गाउँपालिकाका कृषकले माथिल्लो क्षेत्र भिरकोटी, चौँरी, रेबाङ, नरसिङ, पुपाल, पूर्वाङ, रानीखर्क, देउराली लगायत पाटनमा भेडाबाख्रा र गाईको बथानसँग ६ महिना बिताउने गरेको पुथाउत्तरगङ्गाका सुवा बुढामगरले बताउनुभयो । पशुपालनको राम्रो सम्भावना भएको पुथाउत्तरगङ्गाका अधिकांश कृषकले भेडा र गाई पालेका छन् । कतिपयले बाख्रा पनि पाल्ने गरेका छन् । पुथाउत्तरगङ्गा हिमाली क्षेत्र भएकाले पनि बाह्रै महिना एकै ठाउँमा बसेर व्यावसायिक पशुपालन(भेडापालन) गर्न भने सकिँदैन ।

पुथाउत्तरगङ्गाका अधिकांश मानिसले घरमा ५०÷६० देखि ५००÷६०० सम्म भेडाबाख्रा पाल्ने गरेका छन् ।