रुकुम(पूर्व) को सिस्ने गाउँपालिका वडा नम्बर १ र २ मा २० वर्ष माथीका नागरिकहरुको मधुमेह र उच्च रक्तचाप जाँच गरिएको छ । स्वास्थ्य कार्यालय रुकुम(पूर्व) ले सम्बन्धित वडाका स्वास्थ्यकर्मीसँग समन्वय गरेर जेठ महिनाको विभिन्न मितिमा २० वर्ष माथीका आम नागरिकको मधुमेह र रक्तचापको जाँच गरेको हो ।

१ नम्बर वडामा एक सय ९५ महिला र एक सय ३ पुरुष गरि जम्मा २ सय ९८ जनाको रक्तचाप र मधुमेहको परिक्षण गरिएको स्वास्थ्य कार्यालयका सुचना अधिकारी एवम् ल्याब टेक्निसीयन निमप्रसाद गिरीले जानकारी दिनुभयो । जसमा ५ जना उच्च रक्तचाप र एक जना मधुमेहका बिरामी भेटिएका छन् । उहाँकाअनुसार २ नम्बर वडामा एक सय १२ महिला र ८५ जना पुरुष गरि एक सय ९७ जनाको मधुमेह र रक्तचाप जाँच गरिएको छ । जसमा ९ जनामा उच्च रक्तचाप र २ जनामा मधुमेह देखिएको छ ।

अब वडा नम्बर ३ मा पनि यो कार्यक्रम गरिने स्वास्थ्य कार्यालय रुकुम(पूर्व) ले जानकारी दिएको छ । यहि असारको ११ र १२ गते यस वडाको पोखरा र पांगामा त्यहाँका २० वर्षमाथीका नागरिकको मधुमेह र रक्तचाप जाँच गरिने छ । नेपाल सरकारले नै विभिन्न जिल्लाका सिमित स्थानीय तह छनोट गरि मधुमेह र रक्तचाप जाँच गर्दै आएको छ । सरकारको छनोटमा सिस्ने गाउँपालिका परेको थियो । सिस्ने भित्रको ३ वटा वडा भने स्वास्थ्य कार्यालयले छनोट गरेको सुचना अधिकारी गिरीले बताउनुभयो । समुदायमा लुकेर बसेका उच्च रक्तचाप तथा मधुमेहका बिरामी पहिचान गर्ने, पहिचान भएका बिरामीलाई उचित उपचार तथा रोकथामको लागि सहयोग गरि जटिलता हुनबाट जोगाउने र नसर्ने रोग लाग्न नदिन स्वस्थकर खाना तथा स्वस्थकर ब्यवहार अपनाउन प्ररीत गर्ने उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको हो ।

यसै क्रममा स्वास्थ्य कार्यालयले सोमबार रुकुमकोटमा एक अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । २० वर्ष माथिका उमेर समुहमा मधुमेह तथा उच्च रक्तचापको स्क्रिनीङ अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरि कार्यालयले यस्तो जानकारी गराएको हो । कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख नारायण चौधरी र रुकुम(पूर्व) अस्पतालका डाक्टर अर्जुन बुढाले मधुमेह र रक्तचापको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । चौधरीले आगामी आर्थिक वर्षमा सिस्नेको बजेट स्वास्थ्यमैत्री बनाउन पनि माग गर्नुभएको छ ।

अभिमुखीकरण कार्यक्रमलाई संबोधन गर्दै सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मिले स्वास्थ्यलाई प्राथमिकतामै राखेर आगामी आर्थिक वर्षको नीति कार्यक्रम ल्याउने तयारी भइरहेको बताउनुभयो । शिक्षा, कृषि पछिको तेस्रो प्राथमिकतामा स्वास्थ्यलाई राखेर नीति कार्यक्रम बनाइरहेको उहाँको भनाई छ । स्वस्थ्य जिवनको लागि स्वस्थ आहारविहारको आवश्यक पर्ने भएकाले त्यसतर्फ पनि ध्यान दिन उहाँले आग्रह गर्नुभयो । गाउँपालिका उपाध्यक्ष गोपाल रेउलेले स्वास्थ्यको क्षेत्रमा सिस्ने सरकार सधै साथमै रहेको र आगामी दिनमा पनि रहने बताउनुभएको छ ।

कार्यक्रकै क्रममा उपस्थित सबैको मधुमेह र रक्तचाप पनि जाँच गरिएको छ । स्वास्थ्य कार्यालयका प्रमुख नारायण चौधरीको अध्यक्षतामा भएको अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मिको प्रमुख र उपाध्यक्ष गोपाल रेउलेको विशेष आतीथ्यता रहेको थियो । यसैगरी सिस्ने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत चिन्तामणी दाहाल, ३ नम्बर वडाध्यक्ष हेराम खड्का, जिल्ला उद्योग बाणीज्य संघका अध्यक्ष यज्ञप्रकाश मल्ललगाएत स्वास्थ्यकर्मीको उपस्थिती रहेको थियो । स्वास्थ्य कार्यालयका सुचना अधिकारी निमप्रसाद गिरीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन जनस्वास्थ्य निरीक्षक श्याम चौधरीले गर्नुभएको थियो ।