रुकुम(पुर्व) बाट निर्वाचित प्रदेश सभाका सदस्य तेजबहादुुर ओलीले आधारभूत स्वास्थ्य बिना कुनै पनि नागरिक स्वास्थ्य हुन नसक्ने बताउनुभएको छ । रुकुम(पूर्व) पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा समारोहलाई संबोधन गर्दै सांसद ओलीले स्वस्थ नागरिक नभए देश पनि समृद्ध नहुने भनाई राख्नुभएको थियो । यद्यपी अहिले जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नु स्वास्थ्यको क्षेत्रमा एउटा ठुलो सफलता भएको प्रदेश सांसद ओलीले बताउनुभयो ।

खोपले बालबालिकालाई विभिन्न रोगबाट सुरक्षित राख्ने बताउदै सांसद ओलीले अहिलेका बालबालिका भोलीका देशका कर्णाधार रहेको उल्लेख गर्नुभयो । रुकुम(पूर्व) लाई आज पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएपनि यसको दिगोपनालाई आगामी वर्षहरुमा पनि कायम राख्न सबैले हातेमालो गर्नुपर्ने भनाई उहाँको थियो ।

यस्तै उहाँले संघियता कार्यान्वयनपछि नयाँ बनेको यस जिल्लामा सबै कामकाज शुन्यबाट सुरु गर्दा स्वास्थ्यका क्ष्ेत्रमा पनि विभिन्न समस्याहरु देखा परेको बताउनुभयो । जिल्लामा स्वास्थ्यको क्षेत्रमा देखिएका विभिन्न समस्यालाई ध्यानमा राख्दै प्रदेश सरकारबाट प्रयास गरिरहेको पनि प्रदेश सांसद ओलीले बताउनुभएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख एवम् जिल्ला खोप समन्वय समितिका संयोजक मेघबहादुर श्रेष्ठले पछिल्लो समयमा यस जिल्लामा चेतनाको स्तर वृद्धि हुँदै गएकाले खोप अभियानलाई सफलता प्राप्त भएको बताउनुभयो । जिल्ला समन्वय समितिका उपप्रमुख मोहनबहादुर केसीले यो कार्यक्रम देशको समृद्धी र बालबालिकाका भविष्यसँग जोडिएको बताउनुभएको छ । पूर्ण खोपसँगै अब पूर्ण पोषणयुक्त जिल्ला घोषणामा जोड दिनुपर्ने भनाई उहाँको थियो ।

कार्यक्रमलाई संबोधन गर्दै सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मि र पुथा उत्तरगंगा गाउँपालिकाका अध्यक्ष पुनीराज घर्तीले सबैको प्रयासले रुकुम(पूर्व) लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्न सफल भएको बताउनुभएको छ । आगामी वर्षहरुमा पनि यस जिल्लाको खोप सुनिश्चिता र दिगोपनालाई कायम राख्न पालिकाले आफ्नो तर्फबाट भरपुर रुपमा काम गर्ने दुुवै अध्यक्षले प्रतिबद्धता जनाउनुभएको छ ।

कार्यक्रमलाई संबोधन गर्दै प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने र एक वर्षमा दिगोपना घोषणा गरेर मात्र नपुग्ने बताउनुभएको छ । आगमी दिनमा पनि यस कार्यलाई निरन्तरता दिन सकिन्छ की सकिदैन् भन्ने कुरालाई विशेष रुपमा ध्यान दिनुपर्ने बाउनुभयो । भौगोलिक हिासवले विकट यस क्षेत्रका सबै बालबालिकालाई खोपको पहुँचमा पुर्याउन चुनौती हुँदाहुँदै पनि सबै बालबालिकालाई खोपको पहुँचमा पुर्याई रुकुम(पूर्व) लाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गर्न सफल भएको भन्दै बधाई दिनभएको छ ।

आगामी वर्षमा पनि यस कार्यलाई निरन्तरता दिन उहाँले आग्रह गर्नुभएको छ ।