रुकुम(पूर्व) को सिस्ने गाउँपालिका ३ पोखरामा अरिङ्गालले सताउदा किसानहरु समस्यामा परेका छन् । हिजोआज दिनहुँ अरिङ्गालले माहुँरीको घार घेरो हाल्ने र माहुँरी खाने तथा धपाउन थालेपछि किसानहरु समस्यामा परेका छन् । अरिङ्गालकै कारण मौरी सबै भाग्छ की भन्ने पिरले पोखराका मौरी पालक किसानहरु चिन्तामा छन् ।

पोखरामा मौरी पालक किसान ओमप्रकाश खड्काले अरिङ्गालले सताउदा हिजोआज एक जना मौरीको हेरोलो बस्नुपर्ने बाध्यता आइलागेको बताउनुभयो । अहिले उहाँले आफुसँग एक सय ६० वटा मौरीको घार रहेको बताउनुभयो । उहाँकाअनुसार यी सबै घार एकै ठाउँमा छैनन् । चरणको लागि विभिन्न पाँच ठाउँमा राखिएको छ । अहिले परिवारका चार सदस्यहरु एकएक ठाउँमा मौरी हेरालो बसेको र एक ठाउँमा हेरालो राख्न नसक्दा त्यहाँका मौरी सबै अरिङ्गालले सखाप पारेको खड्काले बताउनुभयो ।

उहाँले पोखरा घरमा, दान र मोरी खर्कससँगै सिस्ने ५ को रुवाबाङमा मौरी मोरी हेरालो एकएक जना बसेको तर भिङ भन्ने ठाउँमा हेरालो नहुँदा पाँच वटा घारको मौरी सबै अरिङ्गालले सकेको उहाँको भनाई छ । यस्तै पोखराकै अर्का मौरी पालक किसान कमलाल खड्काले पनि अरिङ्गालले सताएर हैरान बनाएको कुरा सुनाउनुभयो । उहाँले अहिले आफुसँग एक सय १५ वटा माहुँरी घार रहेको बताउदै माहुँरीलाई अरिङ्गालबाट जोगाउन हेरालो बस्दै आएको बताउनुभयो । परिवारका अन्य सदस्यले घरको काम गर्ने र आफुले एक्लै मौरी होरोलो बस्दा अरिङ्गालबाट जोगाउन भ्याइनभ्याइ हुने गरेको खड्काले सुनाउनुभयो ।

पोखराकै अर्का किसान डिलबहादुर खड्काले पनि अरिङ्गालले मौरी खाएर साह्रै दुख दिएको बताउनुभयो । हुलको हुल अरिङ्गाल आएर घार घेर्ने र कुनै बेलामा त घारभित्रै अरिङ्गाल पसेर मौरी धपाउने गरेको उहाँले बताउनुभयो । उहाँकाअनुसार विगतका वर्षहरुमा यसरी कहिल्यै पनि अरिङ्गालले सताउने गरेको थिएन् । यस वर्ष अरिङ्गालको कारण पोखरामा आलोपालो गरेर प्रत्येक घरमा मौरीको हेरोलो बस्ने गरेका छन् । मौरीको पकेट क्षेत्र र मौरी ब्लक कार्यक्रम सञ्चालन भएको यस ठाउँको प्रत्येक घरमा मौरी छन् ।

यस्तै सिस्ने गाउँपालिका ५ सिस्थत रुक्मिणी माविमा रहेको मौरीलाई पनि अरिङ्गालले धेरै सताएको छ । यस विद्यालयमा पढ्दै कमाउदै कार्यक्रमअन्तर्गत ५० वटा मौरीका घार छन् । तर अरिङ्गालको कारण मौरी मासिन्छ की भन्ने डर भइसकेको विद्यालयले जनाएको छ । अहिले जिल्लाको अन्य विभिन्न ठाउँमा पनि अरिङ्गालको कारण मौरी पालक किसानहरु समस्यामा परेको जानकारीहरु प्राप्त भएका छन् ।