रुकुम(पूर्व) को सिस्ने गाउँपालिकाले शैक्षिक तथा भौतिक सुधारको लागि स्थलगत अनुगमन जारी राखेको छ । साउन १६ गतेबाट सुरु गरिएको विद्यालय अनुगमन तथा अन्तरक्रिया कार्यक्रम आज चौथो दिन वडा नम्बर ६ को त्रिभुवन जनता माध्यमिक विद्यालय छिप्रीदहको स्थलगत अनुगमन गर्नुका साथै अन्तरक्रिया सम्पन्न भएको छ ।

गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० मा शिक्षालाई पहिलो प्राथमिकतामा राखेसँगै पालिकाभित्र रहेका सामुदायिक विद्यालय भएका समस्या र समाधानको लागी उक्त कार्यक्रमको सुरु गरिएको हो । अनुगमन तथा अन्तरक्रियाका क्रममा त्रिभुवन जनता माध्यमिक विद्यालय छिप्रीदहमा विद्यार्थी संख्या बढी भएकोले र विद्यार्थीको तुलनामा भौतिक संरचनाको अवस्था कमजोर देखिएको छ । त्यस्तै बिषयगत र तहगत शिक्षक नभएको, अभिभावकको विद्यालय र बालबालिका प्रति त्यति चासो चिन्ता नदेखिएको, आवश्यकताअनुसार शिक्षकहरुलाई तालिमको व्यवस्था नभएको पाईएको छ ।

अनुगमन र अन्तरक्रियाको पाटोलाई नियमित बनाउन शिक्षकहरुले अनुगमन टोलिलाई आग्रह गर्दै आफुहरुमा देखिएका कमीकमजोरीलाई सुधार गरेर अघि बढ्न सहज हुने बताएका छन । अबको शिक्षालाई प्रबिधिमैत्री बनाएर यी सबै समस्या समाधान भएमा शैक्षिक क्षेत्रमा सुधार आउन सक्ने विद्यालयका प्रधानाध्यापक मदन कुमार गौतमले बताउनुभयो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले शैक्षिक सुधार गर्न सिस्ने सरकार प्रतिबद्ध भएको बताउनुभएको छ । उहाँले विद्यालयमा देखिएका यी विविध समस्यालाई समाधान गर्नकै लागि सिस्ने सरकारले शिक्षालाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । रेग्मीले विद्यालयमा रहेका शिक्षकहरुलाई अहिले गरि राखेको राम्रो भएको अब यसलाई थोरै केही मिहिनेत गरेर शिक्षा सुधारमा महत्वोपुर्ण भुमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ ।

उपाध्यक्ष गोपाल रेउलेले विद्यालयमा देखिएका सानातिना समस्याहरुलाई तत्काल हल गर्न सकिने बताउनुएको छ । उपाध्यक्ष रेउलेले शिक्षा सुधार गर्न गाउँपालिकाको पहिलो प्राथमिकता भएकोले शिक्षामा देखिएका समस्यालाई जतिबेला पनि गाउँपालिकामा आएर राख्न आग्रह गर्दै आवश्यकताको आधारमा समस्या संबोधन गर्दै जाने उहाले बताउनुभयो । मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमका जिल्ला संयोजक दुर्गा गौतमले सामुदायिक विद्यालयमा भएका समस्या पहिचान गरि समाधान गर्नलाई अनुगमन सुरु गरिएको बताउनुभएको छ ।

अनुगमनमा सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, उपाध्यक्ष गोपाल रेउले, मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमका जिल्ला संयोजक दुर्गा गौतम, वडा नम्बर ६ का वडाध्यक्ष पुर्णजङ मल्ल लगाएत शिक्षक, विद्यालय व्यवस्थापन समितिको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण शिक्षा युवा तथा खेककुद शाखा प्रमुख मङगलसिहं बुढाले गर्नुभएको थियो ।