अहिले सबैलाई विदेशको मोह छ । अझ रुकुम(पूर्व) को कुरा गर्ने हो भने युवा जमात सबै विदेशिदा मर्दापर्दाको जन्ति र मलामी भेट्नै गाह्रो । स्वदेशमै भएकाहरु पनि शहर बजार केन्द्रित छन् । धेरै पैसा कमाउने आसमा सपनाको देश विदेशमा गएकाहरु त्यहि विदेशबाट फर्केर स्वदेशमै आई केहिले फरक तरिकाबाट पैसा कमाउने सपना देखेका छन् ।

उनिहरुको त्यो सपना हो कृषि । सानै उमेरमा विदेश गएर धेरै दुख पाउनुभएका सिस्ने गाउँपालिका वडा नम्बर ५ रुमालबाराका बसन्त मल्लले अहिले घरमा फर्केर भैसी पालन व्यवसाय सुरु गर्नुभएको छ । उहाँलाई विदेशमा गर्ने दुखको आधा दुखले पनि नेपालमै राम्रो पैसा कमाउन सकिदो रहेछ भन्ने लागेको छ । उहाँसँग अहिलले आधा दर्जन भैसी छन् । रुकुमकोटमा दुधको माग निकै बढेको छ । दैनिक पाँचसय देखि हजार लिटरको माग आउने बजारमा अहिले १७÷१८ लिटरदेखि लिएर ४०÷५० लिटरसम्म मात्र दुध उत्पादन गरेर बजारमा पुयाउने गरेको उहाँले सुनाउनुभयो ।

यस्तै सिस्ने गाउँपालिका ६ कि निशा हमालले पनि जग्गा भाडामा लिएर तरकारी खेती गर्नुभएको छ । गएको वर्षमा एक रोपनी जग्गा भाडामा लिई थोरै लगानीबाट सुरु गर्नुभएको तरकारी खेती अहिले भने १० रोपनी क्षेत्रमा विस्तार भएको छ । खेती गरिएको सबै जमिन शाहीले लिजमा लिनुभएको हो । व्यवसायीक कृषिबाट राम्रो आम्दानी गर्न सकिन्छ भने आफुलाई लागेपछि तरकारी खेती सुरु गर्नुभएकी शाहीले अहिले आफ्नो श्रीमानलाई समेत नेपाल फर्काउनुभएको छ ।

कृषिमै भविष्य देख्नुभएकी शाहीले दुईचार वर्ष विदेश बस्नुभएका श्रीमानलाई स्वदेश फर्काएपछि अहिले दुवै जना एक अर्कालाई सहयोग गर्दै कृषि कर्ममा रमाइरहनुभएको छ ।

रुकुम(पूर्व) कै पुथाउत्तरगंगा गाउँपालिकामा पनि सामुहिक बंगुरपालन सुरु भएको छ । वडा नम्बर १२ कोलमा मा स्मार्ट कृषि गाउँ कार्यक्रमअन्तर्गत सामुहिक रुपमा बंगुर पालन सुरु गरिएको हो । अहिले कोलमा उन्नत जात र स्थानीय जातको बंगुर पालन गरिएको छ । बंगुर पालन व्यवसायबाट आम्दानी राम्रो हुने स्मार्ट कृषि कोल गाउँका अध्यक्ष प्रेमकुमार गुरुङले बताउनुभयो । उहाँहरुजस्तै अन्य व्यक्तिले पनि व्यवसायिक कृर्षितर्फ पाइला अघि बढाउनुभएको छ ।

अहिले जिल्लामा उहाँहरुले कृषि पेशालाई अंगालेर जुन खालको मेहनत गरिरहनुभएको यो साच्चिकै उदाहरणीय छ । मान्छेले विदेशकै सपना देख्ने र स्वदेशमा भएकाहरु पनि गाउँमा काम छैन् भनेर शहर बजार केन्द्रित हुदै गर्दा कृषिबाटै उदाहरणीय काम गरि जिवनस्तर परिवर्तन गर्न सकिन्छ भनेर उहाँहरुले सन्देश दिनुभएको छ ।