रुकुम पूर्व । महिलाहरु पनि पञ्चेबाजा बझाउँछन, भन्ने खबर सुन्दा तपाईलाई अच्चम लाग्न सक्छ । तर सिस्ने गाउँपालिका ५ का महिलाले पञ्चेबाजा बजाउन थालेका छन । परम्परा देखि बाजा बजाउने पुरुषहरु गाउँमा घट्दै गएपछि रुकुमकोटका महिला पञ्चेबाजा संरक्षण अभियानमा जुटेका हुन । हिजो आज रुकुमकोटका महिलाले पञ्चेबाजा घन्काउन थालेका छन । सदरमुकाम रुकुमकोटमा हुने विभिन्न सांस्कृतिक कार्यक्रममा पन्चेबाजा सहित उनिहरु नै पुग्ने गरेका छन ।

विभिन्न सार्वजनिक कार्यक्रम, विवाह, व्रतबन्ध, दाहसंस्कार र अन्य सभा समारोहमा बाजा बजाउने पुरुषहरुको कमि भएपछि महिलाहरु पन्चेबाजा बजाउन सक्रिय भएका हुन । पुरुषले गर्न सक्ने काम महिलाले पनि गर्न सक्छन, भन्ने उदाहरण रुकुमकोटका महिलाले दिएका छन ।

बिहान घरको काम सकेर दिउसो बाजा सिक्न जान्थे, घरकाले पनि यसमा साथ दिए पन्चेबाजा समुहकी अध्यक्ष नविना दमाईले भन्नुभयो स्थानिय सरकार र घर परिवारको साथले हामि सवै बाजा बजाउन सक्ने भएका छौ । पुरुषले मात्र नभई महिलाले पनि बाजा बजाउन थालेपछि पुरानो कला संस्कृति संरक्षणमा टेवा पुग्ने देखिएको छ ।


बाजाको संरक्षण कार्यले आयआर्जनमा पनि सहयोग पुग्ने उनीहरुले विश्वास लिएका छन । सीप भएका युवाहरु बिदेश जाने र बुढा पाखाहरु हिडडुल गर्न नसक्ने भएपछि आफूहरुले बाजा बजाउन सिकेको सुशिला नेपालीले बताउनुभयो । गाउँ घरमा पुरुषले मात्रै बजाउने बाजा सिक्दै जाँदा हामि पनि बजाउन सक्ने भयौ उहाँले भन्नुभयो स्थानिय सरकारको सहयोगमा सिकेको सिपले केहि गर्न सक्छौ भन्ने साहस बढेको छ । सिस्ने ५ का २५ जना महिलाले पञ्जेबाजा बजाउन सिकेका छन । उनिहरुले दमाहा, ट्याम्को, झ्याली र नरसिङ्गा बाजा बजाउन जानेका छन ।

 

जिवनमा अन्य सिप नसिके पनि सामाजिक आवश्यकता र बाध्यताले पन्चेबाजा बजाउन सिकेको अर्की पुतला दमाइले सुनाउनुभयो । उनीहरुले ४५ दिनसम्म नियमित बाजा बजाउने तालिम लिएका थिए । स्थानिय शितले दमाई र जोखे दमाईले उनिहरुलाई बाजा बजाउन सिकाएका हुन ।

महिलालाई बाजा बजाउन सिकाउन गाह्रो हुने भए पनि उनिहरुको सक्रियता र इच्छाशक्तिले अप्ठ्यारो नभएको प्रशिक्षक शितले दमाईले बताउनुभयो । उहाँहरुको रुचि र उत्साहले सिकाउन सहज भयो उहाँले भन्नुभयो सिप सिकेका सवैले बाजा बजाउन सक्ने भएका छन ।

५ नम्बर वडाको दुई लाख बजेटबाट महिलालाई पञ्चेबाजा बजाउने तालिम दिइएको वडा अध्यक्ष बिरेन्द्र बस्नेतले बताउनुभयो । उक्त बजेटबाट सिप संगै २२ जोडा पोसाक पनि वितरण गरिएको छ । गाउँमै भएका पुराना बाजाबाट सिप सिकेका उनिहरुलाई नयाँ बाजा दिने तयारि वडाले गरेको छ ।

उनिहरुको मागको आधारमा ६ वटा दमाहा, दुई दुई वटा ट्याम्को, झ्याली र सनही खरिद प्रकृया अघि बढाइएको अध्यक्ष बस्नेतले बताउनुभयो । वडाका महिलाले सिकेको सिप र सक्रियताबाट आफु उत्साहित भएको उहाँले बताउनुभयो ।

महिलाहरु पन्चेबाजा बजाएर सांस्कृतिक कार्यक्रममा अग्रसर भएको देख्दा समाजमा नयाँ सन्देश गएको वडा अध्यक्ष बस्नेतले बताउनुभयो । पन्चेबजा सहित विभिन्न कार्यक्रममा महिला पुगेको र बाजा बजाएको देख्नेहरुमा पनि इच्छा शक्ति नै ठुलो कुरा रहेछ, भन्ने सन्देश प्रवाह भएको अध्यक्ष बस्नेतको भनाई छ ।