रुकुम पूृर्वः काठमाडौंबाट रुकुम पूर्वको सदरमुकाम रुकुमकोट आउँदै गरेको यात्रु बहाक बस धादिङमा दुर्घटना भएको छ । काठमाडौबाट रुकुमकोटका लागि छुटको बा ४ ख ५७९० नम्बरको बस दुर्घटना भएको हो ।
शनिबार साँझ ६ बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका १० हुग्दिखोलास्थित त्रिशुली नदि किनारमा बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी श्यामबहादुर खत्रीले जानकारी दिए । बस दुर्घटनामा परि विभिन्न १३ जिल्लाका १९ यात्रु घाइते भएका प्रहरीचौकी जोगिमारा धादिङका प्रहरी सहायक निरिक्षक सुमन भण्डारीले जानकारी दिए ।
उनका अनुसार घाइते हुनेहरुमा रुकुम पूर्व सिस्ने गाउँपालिका ४ का १९ वर्षे भुवन केसी, रुकुम पूर्व भूमे गाउँपालिका ५ का २१ वर्षिय मदन बुढा मगर, रुकुम पश्चिम बाफिकोट गाउँपालिका ९ का ३६ वर्षका मदन विक, रुकुम पश्चिम सानीभेरी गाउँपालिका ३ का ५० वर्षका नरबहादुर खड्का, रुकुम पश्चिम आठविसकोट नगरपालिका ८ का ३४ वर्षका शिब बहादुर शाही, चौरजहारी नगरपालिका १ का योगेश्रवर बिक, सोही वडाका प्रेम सिंह बोहरा रहेका छन ।
रामेछाप मन्थिली नगरपालिका ९ का मिलन थापा, धादिङ गल्छि गाउँपालिका ८ का रत्न तामाङ, सिराहा गोलबजार नगरपालिका १३ का २२ वर्षिय रमेश सिंह, दोलखा कालिनचोक नगरपालिका ९ का ३४ वर्षिय अविशेक खाँति, दोलखा बैतेश्री गाउँपालिका ८ का वर्ष २१ श्रीकृष्ण श्रेष्ठ पनि दुर्घटनामा घाइते भएका भण्डारीले बताए ।
यस्तै रौतहट चन्द्रपुर नगरपालिका २ का २६ वर्षका सिता मैनाली, बारा करयैमाई गाउँपालिकाका २७ वर्षका प्रविन चौधरी, काठमाडौका अनिष लामिछाने, कास्कीका कृष्ण प्रसाद अधिकारी, कञ्चनपुरका २४ वर्षका तेजबहादुर कठायत, बाग्लुङ निसीखोला गाउँपालिकाका सविन छनत्याल र बस चालक धादिङ गल्छि गाउँपालिका ८ का २४ वर्षका सुमन तामाङ घाइते भएका छन ।
१९ घाइते मध्य बस चालक तामाङको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । उनको टाउकोमा गम्भिर चोट लागेको छ, उनलाई थप उपचारको लागि काठमाडौ रिफर गरिएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार बसमा सवार अन्यलाई टाउको, हात, खुट्टा र शरिरका अन्य विभिन्न भागमा चोट लागेको छ । उनिहरु सवैको अवस्था मध्यम रहेको छ । घाइते मध्य धादिङमा सामान्य उपचार पछि केहिलाई काठमाडौँ रिफर गरिएको छ, भने बाकीको धादिङमै उपचार भइरहेको छ ।
बस पृथ्वी राजमार्गबाट करिव दुई सय मिटर तल त्रीशुलि नदिमा खसेको छ । दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको धादिङ प्रहरीले जनाएको छ ।