रुकुम पुर्व: डोटी केन्द्रविन्दु बनाई गएकाे भूकम्पले घर भत्किँदा ६ जनाकाे मृत्यु भएकाे छ भने ५ जना घाइते भएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डाेटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज स्थित खप्तड बाबा क्षेत्रमा केन्द्रविन्दु बनाई ६.६ रेक्टर स्केलकाे भूकम्प गएकाे हाे ।

बुधबार बिहान २ बजेर १२ मिनेटमा गएकाे भूकम्पले ग्रामीण भेगका दर्जनाैं घरहरू भत्किएका छन् । पूर्वीचाैकी गाउँपालिकाकाे वडा नम्बर ३ गैरागाउँमा केही घर भत्किँदा घरमा च्यापिएर ६ जनाकाे मृत्यु भएकाे र १ जना उद्धार गर्न बाँकी रहेकाे जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी डीएसपी भाेला भट्टले जानकारी दिए ।

५ जना घाइते रहेका र तिनीहरूकाे उपचारका लागि अस्पताल ल्याइएकाे भट्टले बताए l डीएसपी भट्टका अनुसार ठाडा गाउँकी ३८ वर्षीया भगवती बोहरा, उनकी १३ वर्षीया छोरी सीता बोहरा र ७ वर्षीय छोरा हर्क बोहराको मृत्यु भएको छ ।

यस्तै साेही ठाउँका ४५ वर्षीय प्रेम बोहरा, उनकी १२ वर्षीया छोरी तुलसी बोहरा र राति बोहराकै घरमा सुतेकी स्थानीय महाविर बोहराकी १७ वर्षीया छोरी धनसरीको पनि घरमा पुरिएर मृत्यु भएको  डीएसपी भट्टले बताए  ।

भूकम्पले सोही वडाका पाँच जना घाइते भएका छन् । घाइते हुनेमा ४५ वर्षीय महाविर बोहरा, ४० वर्षीय इन्नरी बोहरा, ४५ वर्षीया बिस्नादेवी बोहरा, ४६वर्षीय चनादेवी बोहरा र ११ वर्षीया धौली बोहरा छन् ।

थप उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाकाे टाेली घटनास्थल पुगिसकेकाे र स्थानीयसहितकाे टाेलीले उद्धार गरिरहेकाे प्रहरीले जनाएकाे छ । शिक्षक मिनराज ओझाका अनुसार अधिकांश स्थानीयका घरहरू भत्किएका छन्, स्थानीय त्रसित देखिएका छन् ।

भूकम्पका कारण सायल गाउँपालिका क्षेत्रकाे समेत ठाउँ ठाउँमा पहिराे गएकाे स्थानीय दलबहादुर देउवाले जानकारी दिए  । त्यस अघि पनि राति ९:७ बजे दिपायलमा केन्द्रविन्दु बनाएर ५.७ म्याग्निच्युडकाे भूकम्प गएकाे भूकम्प मापन केन्द्रले जनाएकाे छ । त्यसपछि समेत पटक पटक झट्का गएकाे थियाे ।