रुकुम(पूर्व) भूमे गाउँपालिका वडा नम्बर ४ काँडाका मनशोभा बुढा ९५ वर्षको हुनुभयो । बुढेसकालले छोएसँगै उहाँले विगत दुई वर्ष यता आखाको ज्योती गुमाउनुभएको थियो । आखा नै नदेख्ने भएपछि परिवारको साहारा लिएर घर भित्र र बाहिर गर्दै आउनुभएका बुढाले यहि मंसिरको २० गतेदेखि आखा देख्न थाल्नुभएको छ । उहाँको रुकुमकोटमै आखाको सफल अप्रेसन भएपछि विगतको जस्तै आखा देख्न थालेको उहाँ बताउनुहुन्छ ।

भूमे ३ का ७७ वर्षका गोकुल विकले पनि एउटा आखा ३ वर्ष र एउटा आखा एक वर्षयता देख्न छोड्नुभएको थियो । उहाँको पनि सफल रुपमा आखाको सल्यक्रिया गरिएको छ । अब उहाँले आखा देख्न सक्नुहुन्छ । रुकुमकोटसम्म आउने गाडिभाडा देखि लिएर बसेखाएको खर्च ६ देखि १० हजार लाग्यो । एक रुपैयाँ खर्च नगरि आखाको अप्रेसनपछि संसार देख्न पाउदा उहाँ दंग हुनुहुन्छ । उहाँहरु केहि प्रतिनिधि पात्र मात्र हुनुभयो । रुकुम(पूर्व) मा १८, १९ र २० गते तिन दिनको अवधिमा एक सय १ जनाको आखाको सल्यक्रिया गरिएको छ । जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ५ स्थित रुक्मिणी माविमा एक एक पाइला फाउण्डेसन र गोपाल शाह परिवारले सिस्ने गाउँपालिका, राप्ति आखा अस्पताल रक्षाचौर दाङलगाएत अन्य निकायसँगाको सहकार्यमा आयोजना गरेको शिविरबाट यती धेरै मानिसहरु लाभान्वित भएका हुन् ।

रुकुम(पूर्व) मै आखाको सल्यक्रिया गर्ने सुविधा नहुँदा र पछिल्लो समयमा जिल्लामा आखाको शिविर नबसेकाले एउटै शिविरमा एक सय १ जनाको आखाको सल्यक्रिया भएको छ । शिविर लम्बिएको भए बिरामी अझै थपिन सक्थे । घरआगन छेउबाटै एक रुपैयाँ खर्च नगरि आखाको अप्रेसन गर्न पाउदा निकै नै खुसी लागेको भूमे ५ का पृथि बहादुर कामीले बताउनुभयो । उहाँ भन्नुहन्छ, “म अहिले ७६ वर्षको भए । ४० वर्षको उमेर हुँदा आखाको ज्योती गुमेको थियो । आर्थिक अवस्था निकै कमजोर भएको कारण बाहिर गएर उपचार गर्न सकिन । पढेलेखेको नभएर पनि उपचार कहाँ के कसरी गर्ने भन्ने कुराको खोजीनिति गर्न पनि सकेन् । अहिले रेडियोमार्फत निशुल्क आखाको अप्रेसन गर्ने खबर सुनेपछि आएको आखाको अप्रेसन पनि भयो, सबै मान्छेलाई देख्न सक्ने भए ।”

उहाँले थप्नुभयो, “अप्रेसनपछि आखाको पट्टी खोलेर डाक्टरले औला देखाएर सोध्नुभयो, बा यो औला कतीवटा छ । मैले छर्लङ्गै देखे । अहिले त पारीका डाँडाँकाँडा, यहि अगाडिका भवन, मान्छे, आफन्त, परिवार सबैलाई देखे । तपाइसँग नि यसरी हेराहेर गरेर कुरा गरिराछु ।” यती भन्दै गर्दा कामीका आखाबाट आसु झरिरहेका थिए । यो आसु उहाँको खुसीको थियो ।

सिस्ने गाउँपालिका ५ का गनेश शाहले यो शिविर धेरै प्रभावकारी भएको बताउनुभएको छ । “जिल्लामै राम्रो खालको स्वास्थ्य सेवा पाउन मुस्किल छ”, उहाँले भन्नुभयो, “अली भरपर्दो सेवाको लागि दाङ, नेपालगञ्ज, काठमाडौं धाउनुपर्ने बाध्यता रहेको रुकुम(पूर्व) बासीको लागि कतीपय शिविरहरु स्वास्थ्य सेवाको भरपर्दो माध्याम बन्ने गरेको पाइन्छ ।” आर्थिक अवस्था कमजोर रहेको र सुविधासम्पन्न अस्पतालमा गएर उपचार गर्न नसक्नेहरुलाई शिविरले धेरै राहत मिल्ने गरेको उहाँको भनाई छ । जिल्लामा केहि वर्षको अन्तरालमा विभिन्न शिविर सञ्चालन हुने गर्दछन् । ग्रामीण क्षेत्रका कतीपय नागरिकहरुलाई स्वास्थ्य उपचारको लागि यीनै र यस्तै शिविरको भर परेर बस्नुपर्ने बाध्यता रहेको समाजसेवी सिस्ने गाउँपालिका ५ का केशव चन्द समालले बताउनुभयो । ग्रामीण क्षेत्रका मानिसहरुलाई गुणस्तरीय र सहज स्वास्थ्य सेवाको पहुँचमा जोड्न चूनौतीपूर्ण रहेको उहाँको भनाई । यहाँको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न पहल गर्ने पहलकर्ता पनि समाल हुनुहुन्छ ।

यहि शिविरबाट दर्जन बढीको कानको अप्रेसन भयो । सामान्य सेवादेखि दिएर भिडियो एक्सरे, सल्यक्रियासहितको सेवा रहेको शिविरबाट एक हजार ८ सय ४ जना नागरिक लाभान्वित भएको एकएक पाइला फाउण्डेसनका अध्यक्ष एवं नेत्र रोग विशेषज्ञ डाक्टर सुमन शम्शेर थापाले बताउनुभयो । “शिविर झट्ट हेर्दा सानोतिनो मेलाजस्तो पनि देखिन्थ्यो” डाक्टर थापाले भन्नुभयो, “रुकुम(पूर्व) मा एक एक पाइलाको २६ औ शिविर हो, यहाँको जस्तो विरामीको उपस्थिती अन्य ठाउँमा देखिएको थिएन् ।” यस उपस्थिती र चेकजाँच पछि बिरामीमा देखिएको समस्याले पनि यस ग्रामीण क्षेत्रको स्वास्थ्य अवस्था र समस्यालाई प्रष्टसँग झल्काएको उहाँको भनाई छ ।

शिविरमा नेत्र रोग विशेषज्ञ डा. थापासँगै राप्ति आखा अस्पताल रक्षाचौर दाङका डा. सुरेश रसाइली, स्त्रि रोग विशेषज्ञ ऋचा गिरी, छाला रोग विशेषज्ञ डाक्टर सविना भट्राई, कान रोग विशेषज्ञ डा. कुन्जन आचार्य, दाँत रोग विशेषज्ञ उषा थापा, रेडियोलोजी डा. अमित श्रेष्ठ, प्याथोलोजी डा. डोल्कर घले, बाल रोग विशेषज्ञ विश्व अधिकारी, जनरल मेडिसीन सुदाम्सु केसी, अर्थोपेडिक डा. राज राणा सहित ५५ जनाको टोलीले शिविरमा सेवा प्रदान गरेको थियो । यसरी दुर्गम क्षेत्रमा आएर भोलेन्टिएर रुपमा यहाँका जनताको सेवा गर्न पाउदा निकै नै खुसी लागेको डाक्टरहरुले बताएका छन् ।

रुकुम(पूर्व) मा एक एक पाइला फाउण्डेशन र गोपाल बहादुर शाही परिवारको आयोजना तथा सिस्ने गाउँपालिकाको समन्वयमा शिविरको आयोजना गरिएको हो । रुकुम(पूर्व) गोपालबहादुर शाहीको पूख्र्यौली थलो भएको र यहाँको स्वास्थ्य अवस्थाको बारेमा जानकार रहेकाले पनि शिविरमार्फत स्वास्थ्यको क्षेत्रमा केहि सुधार ल्याउन सकिन्छ की भन्ने उदेश्यले एक एक पाइलासँग समन्वय गरेर शाही परिवारले शिविर सञ्चालनमा सहयोग गरेको गोपाल बहादुर शाहीले बताउनुभयो । यो शिविरमा खटिएका सबै स्वास्थ्यकर्मीले स्वयमसेवकको रुपमा बिरामीको चेकजाँच तथा उपचार गरेका थिए ।