
जिल्ला खेलकुद विकास समिती रुकुम (पूर्व) ले खेलाडीलाई सम्मान गरेको छ । समितिले जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ६ मा सोमबार एक कार्यक्रमको आयोजना गरि खेलाडीहरुलाई सम्मान गरेको हो । गत कार्तिक १ गते देखि ७ गते सम्म सञ्चालन भएको ९ औ राष्ट्रिय खेलकुद अन्तर्गत लुम्बिनी खेलकुद परिषदको आयोजनामा प्रदेश स्तरीय छनोट प्रतियोगीताको विभिन्न विधामा सहभागी भएका जिल्लाका खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समितिले सम्मान गरेको हो ।
जिल्लाबाट सहभागी भई महिला भलिबल तर्फ प्रथम स्थान हासिल गर्ने महिला टिम सहित कराते र आइटिएफ तेक्वान्दो प्रतियोगीतामा सहभागी खेलाडीहरुलाई सम्मान गरिएको हो । महिला भलिबल तर्फ प्रदेशप्रदेशस्तरीय प्रतियोगितामा महिलातर्फ प्रथम हुन सफल संगिता रोका, अस्मिता पुन, शितल घर्ती, निरुता बुृढा, सोनिसा शाहि, ममता सेन, सबिना बुढा र बम कुमारी श्रिष लाई सम्मान गरिएको छ । भलिबल तर्फ संगिता रोका, अस्मिता पुन र सितोरियो करातेतर्फ वर्षा बुढा राष्ट्रिय खेलकुदको लागि छनोटमा पर्नुभएको थियो ।
त्यस्तै कराते तर्फका ५० केजि तौल समूहमा प्रदेश प्रथम हुन सफल बर्षा पुन र ५० केजि तौल समूहमा प्रदेश द्धितीय हुन सफल सबिना सुनारलाई पनि सम्मान गरिएको छ । त्यसैंगरी आइटिएफ तेक्वान्दो तर्फ ५० देखि ५५केजि तौल समूह अन्तर्गत प्रदेशमा दोस्रो हुन सफल पुथा ११ का शुभम बिक, ६० देखि ६५ तौल समूहतर्फ प्रदेश तेस्रो हुन सफल सिस्ने ५ का गीता पुन, ५० देखि ५५ तौल समूह अन्तर्गत प्रदेशमा तेस्रो हुन सफल सिस्ने ६ का सोनिसा शाहलाई सम्मान गरिएको छ ।
यस्तै ४५ देखि ५० केजि तौल समूहतर्फ तेस्रो हुन सफल सिस्ने ७ का नवराज बुढा र ५० देखि ५५ केजि तौल समूह तर्फ तेस्रो हुन सफल पुथा ११ का इशाक बुढालाई सम्मान गरिएको छ ।
समग्र जिल्लाका साथै खेल जगतको नै इज्जत र मर्यादा कायम गर्न सफल खेलाडीहरुलाई धन्यवादका साथ कदर पत्रले सम्मान गरिएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । जिल्ला खेलकुद विकास समिति रुकुम(पूर्व) का अध्यक्ष नामेन्द्र सुनारको अध्यक्षतामा संचालन गरिएकोे सम्मान कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख मेघ बहादुर श्रेष्ठ, निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्य, सुरक्षा निकायका प्रतिनिधी, संघसस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
खेलकुद विकास समितीका सदस्य माधब केसीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन कार्यालय प्रमुख कमल चन्दले गर्नुभएको थियो ।