रुकुम पूर्व: सिस्ने गाउँपालिका ५ ले १३५ जनालाई न्यानो कपडा वितरण गरेको छ । दिनप्रतिदिन बढिरहेको जाडोबाट बचाउन वडाका नागरिकलाई न्यानो कपड़ा वितरण गरिएको हो ।

वडाका जेष्ठ, अपाङ्ग, एकल र बिद्युवा नागरिकलाई कपडा वितरण गरिएको वडा अध्यक्ष बिरेन्द्र बस्नेतले जानकारी दिए । निम्न आर्थिक अवस्था भएका नागरिकको स्वास्थ्यलाइ ध्यानमा राखी न्यानो कपडा (फाइबर सिरक) वितरण गरिएको बस्नेतले बताए ।

चालु आर्थिक बर्षको बार्षिक स्विकृत कार्यक्रमबाट लक्षित वर्गलाई कपडा वितरण गरिएको छ । वडाका २३० जनालाई न्यानो कपडा वितरण गर्न वडाले ५ लाख रकम विनियोजन गरेको थियो । तर उक्त रकम अपुग हुने देखिएको छ ।

वडा अध्यक्ष बस्नेतले भन्ने सबै लाभग्राहिको विवरण संकलन गर्दा २५५ पुग्ने देखिएको छ । सोमबार टाकुरा, बाहुनथाना, दाङचा, चिउरेनी र मारिपाखा बस्तीका १३५ जनालाई सिरक बितरण गरिएको छ ।                                                                              

बाकी रहेका रुमालबारा, ह्याप्ला, सिमलबोट र चोताबारिका नागरिकलाई मंगलबार वितरण गरिने वडाले जनाएको छ । यी बस्तीका लागि मंगलबार रुमालबाराबाट न्यानो कपडा वितरण गरिनेछ । सोमबार वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरि न्यानो कपडा वितरण गरिएको हो ।

गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, उपाध्यक्ष गोपाल रेउले र वडा अध्यक्ष बस्नेतले संयुक्त रुपमा न्यानो कपडा वितरण गरेका हुन । न्यानो कपडा वितरण कार्यक्रममा ५ नम्बर वडाका वडा सदस्य र कर्मचारीको सहभागीता रहेको थियो ।                                     

जाडो समयमा सिरक वितरण गरेर स्थानीय सरकारले ठूलो गुण लगाएको भन्दै जेष्ठ नागरिकले खुसी ब्यक्त गरेका छन ।